‘खुवालुङ’का बारे जति धेरै कथाहरू, कहानीहरू छन्, ती सबै सबैको आ–आफ्नै लय, पयहरू छन् । मौखिक रूपमा भनिँदै आउँदा तिनका आ–आफ्नै तौरतरिकाहरू बनेका छन् । कथाहरूमा पनि अनेक उपकथाहरू, किस्साहरू थपिएर रोमाञ्चक बनेको भेटिन्छ । विभिन्न भाषीहरू, समुदायहरू पिच्छे ‘खुवालुङ’लाई आ–आफ्नै कथा–किसिमले भनिए पनि आस्था र विश्वासका रूपमा भने समान र साझा मनोविज्ञानका साथ अपनत्व महसुस गरिएको छ । आ–आफ्नो भाषा, संस्कार, संस्कृति जोगाइरहेका राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल आदि जातिहरूमा कुनै न कुनै कहानी, कथा भएर ‘खुवालुङ’ स्थापित छ । उनीहरूले ‘खुवालुङ क्षेत्र’ हाल ः दूधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित विशाल ढुङ्गालाई मुन्दुमि मान्यता र विश्वासमा राख्ने गरेको पाइन्छ । ‘खुवा’को अर्थ खोलानदीको पानी हो भने ‘लुङ’को अर्थ ढ्ुङ्गा हुन्छ । खुवालुङलाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ । खुवालुङ सांस्कृतिक विश्वास र अभ्यासको जग हो । खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदीहरूको मुल–मुहान पछ्याउँदै जाने क्रममा विकास भएको मानव सभ्यताको कथा नै खुवालुङको कथा हो ।