खुसीका लागि आम मान्छे अनेक यत्न गर्छन् । कसै लाई घरजग्गा जोड्दा औधी खुसी लाग्दो हो । कसैको खुसीको निर्धारण महँगा गाडी–घोडाले गर्दा हुन् । कसै का खुसी नाप्ने मापदण्डहरु अरु नै हुँदा हुन् ।
म चाहिँ मेरो खुसीको निर्धारण आफैं गर्छु । अर्थात् म नाटक गर्छु । नाटकबाटै आफूभित्र अपार खुसी खोज्छु । जब म यो कर्ममा थिइनँ, सायद बेखुसी मात्रै थिएँ । त्यसैले खुसी पाउने लालसामा अनेक दुःख झेल्न तयार बन्छु । खासमा धेरैका लागि दुःखको पेसा हुन सक्छ नाटक । तर मेरा लागि खुसी अनि सुखी बन्ने माध्यम । धेरैले ‘नौटङ्की’ ठान्ने नाटक अर्थात् रङ्गकर्म नै मेरो अपार खुसीको स्रोत ।
‘के काम गर्छौ ?’ धेरैले सोध्ने गर्छन् । ‘नाटक गर्छु,’ उत्तर सुनेर छरछिमेक, साथी– भाइ, नातागोता अनि कुलकुटुम्बहरुको साझा प्रश्न हुन्छ, ‘नाटकबाट पनि जिन्दगी चल्छ त ?’
भनिदिन्छु, ‘मज्जाले हुन्छ । म खुसी छु । खुसी भन्ने कुरा पैसासँग दाँज्न मिल्दैन ।’
मेरो खुसीको मुख्य स्रोत नाटक गर्न कम चुनौती भने छैन । झट्ट हेर्दा सहजै जस्तो देखिन सक्छ । के नै गाह्रो होला ल भन्ने हुन पनि सक्छ । तर यसको भित्री पाटो भने ज्यादै सङ्घर्षपूर्ण र सकसपूर्ण छ । यो पेसा दुःखजिलो हो । दुःखका बीच खुसी खोज्नु झन् कति कष्टकर होला ? म यस्तै दुःखमा खुसी खोजिरहेछु । म जस्ता धेरै रङ्गकर्मीहरु पनि सायद मेरै नियति भोग्दै होलान् । ठ्याक्कै मेरै जस्तो दुःख नहोला, तर भोगाइ मिल्दोजुल्दो हुन सक्छ ।
पछिल्लो कालखण्डमा नाटकलाई हेर्ने ‘चस्मा’ बदलिँदो छ । जति बेला नाटकबारे आम मान्छे बेखबर थिए, त्यो बेला झन् कति दुःख भोग्नुभयो होला, हाम्रा अग्रज रङ्गकर्मीहरुले । यति बेला म ती तमाम रङ्गकर्मीहरुलाई झलझली सम्झिरहेकी छु, जसको निरन्तर कर्मले आज तिरस्कृत नौटङ्की सम्मानित, प्रतिष्ठित रङ्गकर्मका रुपमा परिणत हुन पुगेको छ । यसमा रमाउने रङ्गकर्मी, कलाकार, अभिनेता बनेका छन् । कसैले मनग्गे अर्थोजार्जन पनि गरेका छन् ।
काठमाडौंतिर नाटक स्थापित भइसक्यो । मोफसल भनिने काठमाडौंबाहिरका जिल्लाहरुमा नाटकका दुःख उस्तै छन् । काठमाडौंमा जस्तो मनग्गे दर्शक पाउन गाह्रो छ । नाटकबाट केही हजार बटुल्नु अनि पानीका भरमा काम गर्नु मोफसलका रङ्गकर्मीका लागि ठूलै कुरा हुन्छ । नाटक हेर्न पनि पैसा तिर्नुपर्छ र ∕ ठान्ने पुरातनपन्थीहरुलाई पैसा तिराएर नाटक देखाउनु छ ।
अवस्था पूरै निराशाजनक पनि होइन । आशालाग्दो र उज्याला पाटाहरु पनि छन् । मोफसलका धेरै जिल्लामा आफ्नै नाटकघर निर्माण हुँदै छन् । नाटकप्रतिको आम बुझाइ फेरिँदै छ । टिकट काटेरै नाटक हेर्नेको जमात बढ्दै छ । नाटकबाटै धेरै कलाकारको गुजारा चल्दै छ ।
तर धेरै चिज दिगो छैनन् । मोफसलमा धेरै नाटक घर भाडाका घरमा छन् । कतिपय सरकारी भवनमा पनि छन् । कतिपय नाटक घर निर्माणका लागि स्थानीय, प्रदेश सरकारहरुसँग सहयोगको हात जोडिरहेका छन् । मोफसलमा नाटकका दुःख अनगन्ती छन् ।
एउटा अर्को दुःख, कलाकार जुटाउनु हो । यो काम ज्यादै चुनौती छ । अरु कुराहरुमा जस्तो नाट्यकर्मी बन्ने कुरामा परिवारको उत्प्रेरणा बिलकुल छैन । बरू परिवारले ‘ नौटङ्की’ गरेर के पाउँछन्÷पाउँछेस् भनेर हतोत्साहित पार्ने गरेका छन् । ‘पागलहरुको जमात’मा आफ्ना छोराछोरी पठाउन अभिभावक हतपत तयार बन्दैन, अपवाद वाहेक । हो पनि, आर्थिक आम्दानी नहुने क्षेत्रमा अभिभावकले छोराछोरी किन पो पठाऊन् । हाम्रा अभिभावकहरु पनि छोराछोरीको जिन्दगी अर्थसँग मात्रै दाँज्छन्, जुन ठीक होइन । लाखौं–करोडौं रूपैयाँ खर्चिएर पनि नपाउने खुसीको यात्रामा आफ्ना छोराछोरी छन् भन्ने कुरा हाम्रा अभिभावकहरुले कहिले महसुस गर्ने होला, त्यो थाहा छैन ।
सुरूवाती दिनमा कलाकार बन्ने हुटहुटीले तानेर आएका कतिपय कलाकार केही
समयपछि निराश बन्छ । उसले यसभित्र न पैसा देख्छ । न त भविष्य नै । निराशाबाहेक अरु केही देख्दैन । त्यसमाथि अभिभावकको दबाब सहन गाह्रो हुन्छ । अन्ततः भविष्यको खोजीमा भौंतारिन्छ । केही समय पछि ऊ पलायन हुन्छ । अपवादबाहेक धेरै कलाकारको कथा यस्तै नै छ । अहिले पनि कतिपय कलाकर्मी खाडीको गर्मीमा तरतरी पसिना चुहाइरहेका छन् ।
यस्तो किन भयो त ? मलाई लाग्छ, नाटक क्षेत्र अझै पूर्ण व्यावसायिक बन्न सकेन । नाटकबाटै परिवारको गर्जो टार्ने वातावरण अझै छैन । सरकारले नाट्यकर्मीको जीविकाको ग्यारेन्टी गर्ने हो भने अवस्था अर्कै हुने थियो । यो क्षेत्रबाट पलायनको दर घट्ने थियो । यहीँ भविष्य खोज्नेहरुको सङ्ख्या बढ्ने थियो ।
व्यवस्थापकीय पक्ष झन् जटिल हुन्छ । कम्तीमा महिना दिनको कडा मिहेनतले बल्ल एउटा ठीकै खालको नाटक तयार हुन्छ । नाटक तयार हुँदासम्म केही आर्थिक रकम खर्च भइसकेको हुन्छ । नाटक देखाएर असुल्ने योजना हुन्छ । तर नाटक हेर्ने दर्शक नपाउँदाको यो सव योजना भताभुङ्ग बन्छ ।
रङ्गकर्मी महिलाका लागि त झन् अक्करे भीर छिचोल्नु जस्तो कठिन छ नाटक क्षेत्र । हाम्रो टिममा अधिकांश महिला नै छौं । बालबच्चा स्याहारेर, घर व्यवहार सम्हालेर, चुलोचौको सकेर भाडाको थिएटरमा जम्मा हुन्छौं । अनि रङ्गकर्मभित्रै भविष्य देखेर खुसी बन्ने यत्नमा सामेल बन्छौं ।