नेसनल स्कुल अफ ड्रामा (एनएसडी) नयाँ दिल्लीमा अध्ययन सकेर नेपाल आएसँगै अनुप बराल नेपाली रङ्गमञ्च र सिनेमा जगत्मा चर्चित नाम बने । ‘थाङ्ला’, ‘कोर्टमार्सल’, ‘थर्टी डेज इन सेक्टेम्बर’, ‘यौटा सपनाको अवसान’ जस्ता नाटक अनि ‘दोख’ फिल्म निर्देशन गरे । ‘दासढुङ्गा’, ‘डमरूको डन्डीबियो’, ‘पानीफोटो’ जस्ता फिल्मका अभिनेता पनि भए । काठमाडौंमा एक्टर्स स्टुडियो खोलेर लामो समयदेखि अभिनय सिकाइरहेका उनी यति बेला आफ्नो घर पोखरा फर्किएका छन् । पोखरास्थित घरकै आँगनमा ‘हंसध्वनि’ नाटकघर बनाइरहेका छन् । उनी किन फर्किए ? नेपाली रङ्गमञ्च अहिले कहाँ छ ? अनि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवले नेपाली नाटकमा कस्तो प्रभाव पारिरहेका छन्, पोखराकै नाट्यकर्मी परिवर्तनले गरेको कुराकानी सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ—
तपाईंको पछिल्लो कदमलाई पोखरा आगमन भन्ने कि पुनरागमन ?
हामी जहाँ भए पनि काम अर्थपूर्ण हुनुपर्छ भन्ने मलाई लाग्छ, ता कि त्यसले हामी बाँचेको समाज र समयलाई फराकिलो अनि गहकिलो बनाओस् । म जहाँ बसे पनि रङ्गमञ्च मेरै साथमा थियो । अहिले पनि छ । आगतमा पनि रहिरहनेछ ।
पोखरा किन फर्किनुभएको ?
म नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा नयाँ दिल्लीमा पढ्दै गर्दा मेरा गुरू र साथीहरु सोध्थे, ‘एनएसडी के बाद तुम्हारा डेस्टिनेसन क्या है ?’ म जवाफ दिन्थें, ‘नेपाल अनि त्यसपछि पोखरा ।’ म जुन माटो, संस्कृति र भूगोलको धरातलमा उभिएको छु, त्यो आफैंमा विशेष र पृथक् छ भन्ने लाग्थ्यो । म आफ्नो नाट्य प्रस्तुतिमा आधिकारिकतासहितको जवाफदेहिता होस् भन्ने प्रयत्न गर्छु, जुन मैले आफ्नो जमिन, आसपासको परिवेश र संस्कृतिसँग जोडिएर मात्र प्राप्त गर्न सक्थें । त्यही जमिनप्रतिको लगावले मलाई नेपाल फर्कायो । मैले काठमाडौंमै बसेर रङ्गकर्म थालें । म आउँदा मृतप्रायः रहेको नेपाली रङ्गमञ्च अहिले फरक छ । काठमाडौं रङ्गमञ्चको सहर भएको छ । थुप्रै रङ्गकर्मका गतिविधि पनि अक्सर त्यहाँ नै केन्द्रित छन् । तर त्यहाँबाट बाहिर भने धेरै कम । नेपाली नाटकमा विविधता खोज्न अहिले भइरहेको काठमाडौंकेन्द्रित रङ्गमञ्चको ऊर्जालाई अन्य ठाउँमा फैलाउन अनि नेपाली रङ्गकर्मको नाट्य प्रस्तुतिमा देखिएको ‘हेजोमोनिक प्रोटोटाइप’ भत्काउन जरूरी छ भनेर म पोखरा फर्किएको हुँ ।
नाटक गर्न नाटकघर नै चाहिन्छ भन्ने प्रश्न बारम्बार आइरहन्छ, यसमा के भन्न चाहनुहुन्छ ?
नाटक गर्न नाटकघर नै चाहिन्छ भन्ने हुँदैन । बरू राम्रा नाटक लेख्न र बनाउनु जरूरी हुन्छ । नाटकघर बनाउने तर राम्रा नाटक खेलिएनन् भने तिनीहरु छिट्टै एउटा गोदाममा परिणत हुन बेर लाग्दैन । किनभने नाटकघर मात्र आफैंले राम्रो नाटक मञ्चन हुनुको ग्यारेन्टी गर्दैन । तर यसो भन्दै गर्दा नाटक खेल्ने स्थानलाई हामीले नकार्न सक्दैनौं । नाट्य प्रस्तुतिका लागि तीन ओटा अनिवार्य तङ्खव हुन्छन्— नाटक खेलिने स्थान (स्पेस), नाटक प्रस्तुत गर्ने अभिनेता र दर्शक । स्पेस र नाटकको सम्बन्धलाई निर्देशकको प्रस्तुति–परिकल्पनाले प्रभावित गरेको हुन्छ । फरक–फरक खाले स्पेस भयो भने त्यसले नाट्य प्रस्तुतिमा विविधता थप्छ ।
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवलाई तपाईंले कसरी हेर्नुभयो ?
यो महोत्सव नाट्य प्रस्तुतिको मात्र होइन, नाटकसँग सम्बन्धित संस्कृति, साहित्य जस्ता अन्य विधामाथि हुने विचार–विमर्शको सङ्गम थियो । केही नाटकको नाट्य प्रस्तुति कथा भन्ने शैलीका कारण ‘ग्राउन्ड ब्रेकिङ’ लागे । विशेषगरी दक्षिण भारतबाट आएको नाटक ‘डेसडिमोना रुपकम्’को प्रस्तुतिले मलाई अधिक आकर्षित गर्यो । ‘फेमिनिस्ट न्यारेटिभ्स’लाई सेक्सपियरको ‘ओथेलो’सँग जोडेर भारतीय मिथक र शास्त्रीय गायनसँग मिसाउँदा त्यसले एउटा गीति कन्सर्ट र नाट्य प्रस्तुतिको गज्जब संसार बुन्यो । नेपालका नाटकहरुमा भने नाट्यरुपको विविधतामाथि उतिसाह्रो प्रयत्न भएको देखिन्न । ‘बुद्ध र भिखारी’ नामक नाटक यस अर्थमा नवीन लाग्यो । यसले आउने दिनमा स्याडो पपेट्रीप्रति मानिसको रूचि बढाउनेछ भन्ने लाग्छ । मुद्दा, विषय र प्रस्तुति शैलीका हिसाबले ‘कथा कस्तूरी’ जादुयी यथार्थवाद र लोकरुपको मीठो संयोजन थियो भने ‘खुवालुङ’ले माझ किरातको विश्वास र आस्थामाथि सत्ताले गरेको हस्तक्षेपलाई टड्कारो प्रश्न ग¥यो । राजनीतिक र सामाजिक प्रतिबद्धताका सवालमा यी दुवै नाटकले जिज्ञासा थपे अनि प्रश्न जगाए । त्यसबाहेक तदासी सुजुकीको शैली र अभ्यासका कुरा भएको कार्यशाला पनि मलाई विशेष लाग्यो ।
नेपाली रङ्गमञ्च अहिले कहाँसम्म आइपुग्यो ?
पछिल्लो दुई दशकयता रङ्गमञ्च र यसका धेरै कुरामा सचेतना आए जस्तो देखिन्छ । रङ्गमञ्चीय गतिविधि बढेका छन् । सरकारी संस्थानले नाटकप्रति देखाएको उदासीनता र स्पष्ट सांस्कृतिक नीतिको अभावका बाबजुद गैरसरकारी नाट्य सस्थांहरुले आफ्नै पहलमा नाटकघर बनाउने जुन लहर चलाए, त्यो एउटा ‘प्याराडाइम सिफ्ट’ नै हो भन्दा हुन्छ । यो साउथ एसियामै भएको विस्मयकारी घटना हो, जुन नेपालको पूर्वदेखि पश्चिमतिर पनि फैलिँदै गएको छ । रङ्गमञ्चमा नाटक हेर्ने दर्शकको उपस्थिति पनि बाक्लै छ । नयाँ दर्शक पनि छन् । केही नयाँ नाटककार नेपाली नाट्य लेखनमा सक्रिय भएको देखिन्छ । पहिलाको तुलनामा महिला, आदिवासी र विभिन्न जनजातिका नाट्य निर्देशक र कलाकारको आगमन पनि बढ्दो छ । समसामयिक रङ्गमञ्चको वातावरणमा यत्तिको काम हुनु पनि एउटा उपलब्धि हो । यसका बाबजुद पछिल्लो २० वर्षमा मन र मस्तिष्कलाई ह्यामरले झैं हिर्काउन सक्ने नाटक किन आइरहेका छैनन् ? हामी कन्टेन्टको खोजमा कथा, उपन्यासतिर जानुपर्ने वा पुराना तथा विदेशी नाटकलाई दोहो¥याइरहनुपर्ने स्थितिमा किन छौं ? त्यसमाथि समसामयिक रङ्गमञ्चमा प्रस्तुत हुने नाटक र यसले बनाउन सक्ने सौन्दर्य, रुप, भाषा, शैली र विविधताको कुरा गर्ने हो भने धेरैजसो प्रस्तुतिको मूल स्वभाव किन उस्तै देखिन्छ ? यी प्रश्नलाई भने गम्भीर रुपमा सोच्ने बेला भएको छ । म यस्तो किन भनिरहेको छु भने धेरै नाटक अझै पनि कि त सामाजिक यथार्थवादको धङधङीमा अल्झिएका छन् या सतही मुद्दा या नारा बाट ग्रसित छन् । रङ्गमञ्चमा हुने यस्ता कामले न दर्शकको कल्पनालाई समृद्ध गर्छ, न त नेपाली रङ्गमञ्च समग्रमा विकसित हुन्छ ।
यसलाई बदल्न के गर्नुपर्छ ?
नाटक लेखिनु, खेलिनु र दर्शक आउनु मात्रै ठुलो कुरा मान्नु हुँदैन । नाटक रुप, शैली र कथ्यका कारण कत्तिको उम्दा थियो र त्यसले समग्र नाट्य क्षेत्रमा कसरी विशिष्ट योगदान ग¥यो भन्ने कुराले हाम्रो आउने रङ्गकर्मको ‘ब्लु प्रिन्ट’ तयार गर्छ होला । नेपाली रङ्गकर्मीमा रङ्गमञ्च प्रगतिशील हुनैपर्छ भन्ने सोच देखिन्छ । केही निर्देशक र लेखक नवीन काम गरिरहेका पनि छन् । तर प्रायः प्रस्तुतिमा प्रगतिशीलाताको उपस्थिति भने धेरै भेटिँदैन । हामीले स्थान र समयलाई लिएर केही नयाँ प्रयोग गरिरहेका छौं कि छैनौं ? नाटकमा प्रयोग गरिएको अभिनय शैली कथ्य रुपअनुरुप भएको छ वा छैन ? विधाका हिसाबले कति विविधता छन् ? प्रस्तुतिको रुप–भाषाले कति निजत्व र मौलिकता हासिल गर्न सकेको छ ? प्रस्तुतिको विषयवस्तुअनुरुप मञ्चमा उपयोग गरिएका सेट, प्रकाश, पात्रले बोक्ने हाते प्रप्स, मुहार सज्जा, वस्त्र विन्यास र सङ्गीतबीच प्रस्तुतिमा एकात्मकता छ वा छैन ? यस्ता कुराको इमानदार उत्तर अबका रङ्गकर्मीहरुले खोज्न जरूरी छ ।
त्यहाँ पुग्ने बाटो के हो ?
कलामा एकात्मकता बनाउने र भत्काउने कुराले ठूलो अर्थ राख्छ । बनाउँदा त्यसको सौन्दर्य कसरी निर्माण भएको छ र भत्काउँदा पनि पुनः त्यसले अर्को सौन्दर्य कसरी निर्माण गरेको छ भन्ने महङ्खवपूर्ण हुन्छ । बन्नु जस्तै भत्कनुमा पनि एकात्मकता हुनुपर्छ । त्यसले कुनै कलाको रुप र शैली निर्माण गर्ने हो । सङ्लो अनुहार बनाउने हो । थिएटर जीवनको कोरा प्रस्तुति मात्र होइन । यो विचारको एउटा दृष्टिकोणको प्रस्तुति पनि हो । नाटक नारा मात्र पनि होइन— कुनै सोचलाई कलात्मक तरिकाले भनेर दर्शकलाई सत्यको उद्घाटन गराउन, प्रश्न गर्न र जिज्ञासा राख्न प्रेरित गर्ने हतियार हो । हतियार जति धारिलो हुन्छ, त्यो त्यत्तिकै लाग्ने हुन्छ । तर त्यसको धारलाई बलियो बनाउन अर्जाप्नुपर्छ । अर्थात् नाटकलाई एउटा डिसिप्लिन र प्रशिक्षणभित्र लैजानुपर्छ । नाटक पाठ मात्रै होइन, पाठलाई मञ्चको क्राफ्टमा बदलेर प्रस्तुत गरिने श्रव्यदृश्य कला हो । र क्राफ्ट जहिले पनि प्रशिक्षण, अध्ययन र त्यसको व्यावहारिक उपयोगबाट नै विकास गर्न सकिन्छ । यसका लागि नाट्य स्कुल हुन जरूरी छ । प्रयोगशील काम गर्न र जोखिम लिन प्रेरित गर्ने वातावरणको खाँचो हामीलाई छ । नाटक विधाको महङ्खव र विशेषता बुझाउने खालको पाठ्यसामग्रीलाई विद्यालय तहबाटै समावेश गर्ने हो भने यसले कालान्तरमा नाटकका लागि कलाकार, लेखक अनि सचेत दर्शक निर्माणमा सघाउँछ । राम्रा नाटक निर्माणको प्रक्रियामा दर्शक र समालोचकको पनि महङ्खवपूर्ण भूमिका रहन्छ ।
त्यसमा नाट्य महोत्सव जस्ता गतिविधिले कसरी सघाउ पु¥याउँछन् ?
कलाकर्ममा जहिले पनि पहिलो संस्करण या सुरूवात ज्यादा जोखिमयुक्त हुँदो रहेछ । त्यसलाई म कलाको जोखिम भन्छु । यो जोखिम मण्डला नाटकघरमा रङ्गकर्मीले लिए । हामी पनि त्यो यात्राको साक्षी बन्यौं । पहिलो संस्करणमा त अन्य ६ ओटा नाट्य संस्था पनि जोडिए । अहिले सोच्दा खुसी लाग्छ । किनभने हामीले रङ्गकर्मको मूल मन्त्र ‘सामूहिकता’लाई बिर्सेका रहेनछौं । वस्तुतः यस्ता उत्सवले पाठशालाको भूमिका निर्वाह गर्छन्, जहाँ हामी एकअर्काको फरक काम र दृष्टिकोणबाट धेरै कुरा सिक्न सक्छौं । उत्सवले नयाँ तथा पुराना नाट्य लेखक, रङ्ग निर्देशक र कलाकारको प्रतिनिधि काम हेर्ने अवसर दिने हुँदा यसले एक्स्पोजरको काम गर्छ, जसका आधारमा हामीले कुनै अन्य देशसँग सांस्कृतिक आदानप्रदान गर्न सम्बन्ध निर्माण गर्न सक्छौं । उत्सवले नवीन, प्रयोगधर्मी र ग्राउन्ड ब्रेकिङ काम गर्न प्रेरित गर्ने हुँदा बिना आर्थिक चिन्ता त्यस्ता काम गर्न रङ्गकर्मीलाई प्रेरित गर्दछ । यसले महोत्सवले डिसिप्लिन निर्माण गर्छ, भत्काउन पनि प्रेरित गर्छ । यस्तो महत्वपूर्ण स्पेस बनाउन ठूलो आर्थिक खर्च र मानवस्रोतको लगानी चाहिन्छ । कुनै पनि सरकारी र कर्पोरेटको सहयोगबिना मण्डला जस्तो निजी संस्थाले अन्तर्राष्ट्रिय नाट्य उत्सवको पहल गर्नु निश्चय पनि ठूलो साहस र स्तुत्य कार्य हो । यसले नेपाली रङ्गमञ्चको गतिरोध चिर्ने प्रयत्न गरेको छ । अनि यो महोत्सवको एउटा राम्रो पक्ष स्याटलाइट पर्फर्मेन्स गरिनु हो । अर्थात् राम्रा र विदेशबाट आएका नाटकलाई काठमाडौं मात्र नभई अन्य सहरका रङ्गकर्मी र दर्शकले ती नाटकको स्वाद लिने अवसर पाए । यसले नाटकका लागि दर्शक बढाउने काम ग¥यो र स्थानीय रङ्गकर्मीले एउटा अलग नाटकीय अनुभव गर्न पाए ।
महोत्सवका सम्भावना र चुनौती के पाउनुभयो ?
महोत्सव बहुआयामिक हुन्छ । यहाँ केवल नाटक मात्र होइन, धेरै विषयको विचारविमर्श हुन्छ । रङ्गकर्म सिर्जनाका सुख र दुःखका कुरा हुन्छन् । समसामयिक र आउने भावी रङ्गमञ्चको सामूहिक चिन्ताबारे कुरा हुन्छन्, जुन अक्सर अन्य बेलामा हुन गाह्रो पर्छ । सन् १९९८ को कुरा हुनुपर्छ, एनएसडी रेपर्टरी कम्पनीले नेपालमा आफ्ना केही नाटक महोत्सव गरेको थियो । उक्त महोत्सवमा नाटक हेरेपछि नेपालका धेरै रङ्गकर्मी प्रभावित भएका थिए । पछि गुरूकुलले आयोजना गरेको ‘काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव’ले पनि अन्य मुलुकको काम हेर्ने अवसर जुरायो । मण्डलाले यो संस्कारलाई अझ अगाडि बढाइरहेको छ । नयाँ रङ्गकर्मीको काम र सोचलाई फराकिलो बनाइरहेको छ । अहिले पोखरा र दमकमा नाटकघर बनिरहेका छन् । चितवन, कर्णाली, धरानतिर पनि बन्दै छन् भन्ने सुनेको छु । प्रत्यक्ष या अप्रत्यक्ष रुपमा यो सबै यस्तै नाटक महोत्सव र गतिविधिका कारण सम्भव भएको हो । त्यसले नेपालमा पनि यस्ता महोत्सव हुँदा रहेछन् भन्ने सन्देश अन्तर्राष्ट्रिय रुपमा गएको छ । यसले समस्त नेपाली रङ्गमञ्चलाई विश्व मानचित्रमा स्थापित गर्छ ।
यद्यपि यस्ता महोत्सव गर्दा हाम्रो जस्तो अर्धविकसित देशका चुनौती पनि उत्तिकै छन् । राज्यले यस्ता महोत्सवलाई लगानी गर्ने क्षेत्र हो भनेर चिनेको छैन । मण्डलाले पक्कै पनि धेरै चुनौतीको सामना गरिरहेको छ । तर महोत्सव सुरू गरिसकेपछि केही वर्षमै थन्किने अवस्था आउनुहुँदैन । यस कारण महोत्सवलाई नियमित रुपमा कसरी टिकाइराख्ने भन्ने सबैभन्दा चुनौती छ । देश–विदेशबाट आएका कलाकारको बसोबास र नाटक प्रस्तुतिलाई चाहिने खर्च जोहो गर्ने सबैभन्दा गाह्रो कुरा हो । दुवै संस्करणलाई दाँजेर हेर्दा पहिलोभन्दा दोस्रो महोत्सवमा नाटकको सङ्ख्या खुम्चनुपर्ने कारण नै अर्थको अभाव हो । अब समय बजेटअनुसारको महोत्सवको आकार कत्रो बनाउने भन्नेतर्फ सोच्नु जरूरी छ ।