कथा भनिरहँदा सामाजिक न्याय बिर्सनुहुँदैन 

This article was published in: Reflections II
Content type: Article
Dhruba Satya Pariyar

स्त्री र शूद्रलाई सुनाउन चार वेद योग्य नभएकाले  सबैलाई सुनाउन हुने अर्को वेद सृष्टि गर्न देवताहरुले ब्रह्मालाई आग्रह गरे । त्यसपछि ब्रह्माले सबै शास्त्रको अर्थले सम्पन्न पाँचौं नाट्यवेदको रचना गरे, ‘भरतनाट्यम्’ । 

अर्थात् समाजमा महिला र शूद्रलाई धर्मको मर्म बुझाउनु नै नाटकको प्रयोजन थियो ।  धर्म र सामाजिक नियम बुझाउने चरण त भाषाको उत्पत्तिपछि आयो । नाटकको  जननी नृत्यको उत्पत्ति भने भाषाको उत्पत्तिअघि नै भएको हो । अमेरिकी लेखक  सेल्डन चेनीको पुस्तक ‘द थिएटर ः थ्री थाउजेन्ड एयर्स अफ ड्रामा, एक्टिङ एन्ड  स्टेजक्राफ्ट’ का अनुसार मानिसका लागि नृत्य नै भावाभिव्यक्तिको आदिम साधन र  समस्त कलाको उद्गमस्थल हो ।  

बोल्ने भाषा विकसित नभइसकेको आरम्भिक कालमा मानिसका लागि भावाभिव्यक्तिको  साधनको कमी थियो । त्यसैले उनीहरुले आफ्ना भावलाई हातखुट्टा वा शरीरको  चालबाट प्रकट गर्थे । हाम्रो देशको ठोस इतिहास खोज्दा, लिच्छविकालमा शिवदेव,  अंशुवर्मा लगायतको पालामा नाट्य गोष्ठी हुने गरेको शिलालेख भेटिएको छ ।  नृत्याभिनय वा नाटकीय हावभाव प्रकट हुने खालका प्राचीन मूर्ति पनि रङ्गमञ्चीय  इतिहासको अध्ययनका स्रोत हुन् ।  

विज्ञानको विकास नभइसकेको अवस्थामा पानी परोस्, खेती होस्, तथा विपद्  नलागोस् भनी मानिसले प्राकृतिक वा अलौकिक शक्तिसँग प्रार्थना गर्दै आए । पानी  परेर खेती सप्रेपछि कृतज्ञता प्रकट गर्थे । प्रार्थना र कृतज्ञताका शब्द वा भाषामा लय,  नृत्य र अभिनय मिसियो । पछि शासकको खुसीको पलमा अर्थात् युद्धमा विजय  भएका बेला, राज्याभिषेक गर्दा, राजाका सन्तान जन्मँदा जनताले नाचगान गर्न थाले ।  यस्ता नाचगानमा प्रशंसासँगै प्रार्थना पनि मिसिन्थे । यसरी नाटक दरबार छिर्यो । 

मल्लकालमा धर्मका आधारमा जनताले मनोरञ्जन लिन सकून् भनी काठमाडौं  उपत्यकामा नाटक प्रदर्शन हुने समय, र ठाउँ (डबली) तोकिएको थियो, (पञ्चायत  स्मारिका–२०४२) । खासगरी शाहकाल वा राणाकालमा नाटक शासकको मनोरञ्जनकै  साधन थियो । प्रजातन्त्रपछि भने पूर्ण रुपमा जनताको हुन थाल्यो । पञ्चायतकालमा  नाटक वा सङ्गीतले खासगरी पञ्चायती व्यवस्थाकै प्रचार र प्रसार ग¥यो ।  बहुदलपछि बल्ल रङ्गमञ्चले जनताको माझमा टाउको उठाउन थाल्यो । निरंकुश  शासनका बेला शासकको तजबिजमा नाटक प्रदर्शन गरिन्थ्यो । जनताले आफ्ना  कतिपय भावना अभिधा अर्थमा नभई व्यञ्जना र लक्षणामा अभिव्यक्त गर्थे ।  

यसरी हेर्दा लामो बाटो हिँडेर नाटकले आफ्नो खास विधान, व्याकरण र व्याख्या  बनाउँदै आएको छ । यही पृष्ठभूमिमा आज नेपाली रङ्गमञ्चमा देखिएका नाटकलाई  केलाउनुपर्छ । कस्ता नाटक आउनुपर्ने हो भन्नेतर्फ पनि बहस गर्नैपर्छ ।  

सेल्डन चेनीका अनुसार, आदिम मानवले आफूले सिकार गरेको घटना अरुलाई  बुझाउने क्रममा नाटकको विकास भएको मान्न सकिन्छ । आज हामीले कथामार्फत  बुझाउनुपर्ने विषय धेरै छन् । विशेषतः नाटकले कथा भन्छ र कथामार्फत केही  बुझाउन खोजिएको हुनुपर्छ । आज नेपाली रङ्गमञ्चका कथाले के बुझाउन खोज्दै  छन् ? यही प्रश्नलाई केन्द्रमा राख्नुपर्छ । 

आज हामी सुन्छौं— व्यवस्था बदलियो, अवस्था बदलिएन । यसको अन्तर्यमा हामी  छिर्न आवश्यक छ । व्यवस्थासँगै हामीले राज्यको मूल कानुन संविधान पनि बदलेका  छौं । त्यसमा ३१ ओटा मौलिक हक छन् । यी हक शब्दमा लेखिएर मात्रै हुँदैन,  भोगाइमा हुनुपर्छ । यी हकले मात्रै पुग्दैन भने हामीले आवश्यक हकको माग गर्नुपर्छ ।  हेरिल्याउँदा, बुझिल्याउँदा मानिसले बनाएको इतिहास वा मानिसले कल्पेका कथाले  हक–भोगकै भाव वा अभाव भन्छन् । हाम्रा पुर्खाले हिजो कथेका सबै कथा हकभोगकै  विषयमा थिए, हामी वा हाम्रा सन्तानले भोलि कथ्ने कथा पनि सबै हकभोगकै भाव  वा अभाव आधारित हुनेछन् । हामी आफूले आज मानव भएर कति हक भोगेका  छौं ? हामीले जत्तिकै हक अर्कोले भोगेको छ ? वा हामीले अरु जति हक भोग्न  पाएका छौं ? यिनै प्रश्नको घेराबाट हाम्रा कथा जन्मनुपर्छ ।  

नेपाल राज्यका अनेक राष्ट्र छन् । संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक  बहुसांस्कृतिक विशेषतायुक्त… भनेर परिभाषित गरेको छ । सबै नेपाली जनता समष्टिमा  राष्ट्र हो । यो राष्ट्रलाई बलियो बनाउन हामीले विविधतामा एकता र समता  खोज्नुपरेको छ । हरेक क्षेत्रमा हरेक समुदायको प्रतिनिधित्वलाई लिएर आवाज उठिरहेको छ । नाटकका कथानकमा पनि विभिन्न जात–जाति, वर्ग, लिङ्ग तथा  समुदायका मुद्दालाई कसरी प्रस्तुत गरियो र कसरी गरिनुपथ्र्याे भन्ने बहस छेड्नुपर्छ ।  हामीले नाटकमा जस्तासुकै कथा भनौं, कथा भनिरहँदा सामाजिक न्यायको सवाललाई  बिर्सनुहुँदैन । यसको अर्थ हामीले नाटकका लागि कथा छान्दा, कथा खोज्दा, कथा  बुन्दा धेरै नियममा बाँधिनुपर्छ भन्न होइन, कम्तीमा संविधानमा उल्लिखित मौलिक  हकको मर्मलाई ख्याल गरे पुग्छ । 

हरेक राज्य, समाज वा समुदायको आफ्नो इतिहास र संस्कृति हुन्छ । हरेक इतिहास  र संस्कृतिको पिँधमा कथा हुन्छ । आजको चेतनाले नियाल्दा ती कथा वैज्ञानिक र  न्यायिक नहुन सक्छन् । वा सामाजिक न्यायको कसीमा विभेदपूर्ण हुन सक्छन् । ती  कथा लिएर नाटक गर्दा हामीले सामाजिक न्यायलाई उपेक्षा गर्नुहुँदैन ।  

अर्कोतिर, संविधानमा नसमेटिएका तर हामीलाई आवश्यक थुप्रै हक छन् । मैले त  प्रेम र यौनको हकबारे पनि लेख्दै आएको छु । प्रेम र यौनलाई परम्परागत रुपमा  मात्रै सोचिनुहुँदैन, व्यक्तिलाई कानुनसम्मत तर विवेकपूर्ण निर्णय गर्न दिइनुपर्छ ।  पछिल्लो समय लिभिङ टुगेदरलाई कानुनी मान्यता दिइनुपर्ने, महिलालाई अंशसँगै  वंशको हक कस्तो हुने, विवाह संस्थालाई भत्काउने वा व्यवस्थित बनाउने भन्ने  कोणबाट पनि बहस उठिरहेका छन् । यी विषयमा पनि हामी स्पष्ट र सार्वभौम  हुनुपर्छ ।  

संसारमा द्वन्द्वहरु सम्पत्ति, सम्बन्ध, सत्ता, स्वाभिमान, धर्म–संस्कृति, सिमाना (विविध  र राज्यको पनि) आदि विषयलाई लिएर हुने गरेका छन् । त्यसैले हाम्रा कथा यस्तो  हुनुपर्छ, जसले कसैका स्वाभिमान वा आत्मसम्मान ठेस नपु¥याओस् । हामीले एउटा  समुदाय, लिङ्ग, वर्गको कथा भन्दा अर्कोलाई चोट पुगिरहेको हुन सक्छ । कतिले  प्रश्न गर्छन्, सबैलाई ख्याल गरेर कहाँ कथा बन्छ ? बन्छ । कथा प्रस्तुत गर्दा कसरी  सामाजिक न्यायलाई बुझाउने भन्ने मात्रै प्रश्न हो । जसरी फिल्ममा धूम्रपान वा मदिरा  सेवन गरेको दृश्य राख्दा ‘धूम्रपान वा मद्यपान स्वास्थ्यका लागि हानिकारक छ’  लेखिन्छ, नाटकमा प्रस्तुत कतिपय दृश्य वा संवादले कसैलाई विभेद गर्छ भने यस्तो  बेला त्यो दृश्य वा संवादपछि वास्तविक न्याय यो हो भनी विभिन्न शैलीबाट पुष्टि  गर्न सकिन्छ, यही त कथा भन्ने क्षमता हो ।   

Picture of Dhruba Satya Pariyar

Dhruba Satya Pariyar

परियार कला समीक्षक तथा पत्रकार हुन् ।

Picture of Dhruba Satya Pariyar

Dhruba Satya Pariyar

परियार कला समीक्षक तथा पत्रकार हुन् ।

Discussions

{{ reviewsTotal }}{{ options.labels.singularReviewCountLabel }}
{{ reviewsTotal }}{{ options.labels.pluralReviewCountLabel }}
{{ options.labels.newReviewButton }}
{{ userData.canReview.message }}