सत्र वर्षअघि काठमाडौंको गुरूकुलमा एउटा नाटक चल्यो । त्यसको नाम थियो— ‘कर्णाली दख्खिन बग्दो छ’ । नामैमा बिम्ब बोकेर काठमाडौं छिरेको त्यो नाटकले वर्षौंदेखिको कर्णालीप्रतिको काठमाडौंको बुझाइ मात्र भत्काएन, कर्णालीको दुःखलाई नेपाली नाटकको विषय पनि बनायो । चामलको रक्सी पाउने तर पेट भर्न चामल नपाउने जस्ता विरोधाभाष अनि तुइनमा झुन्डिँदै विद्यालय जानुपर्ने र जागिरका लागि मुग्लान पस्नुपर्ने जस्ता बाध्यताहरुलाई उजागर गरिदियो । हास्य र व्यङ्ग्य शैलीमा कर्णालीबासीका दिनानुदिनका बाध्यता देखाइएर काठमाडौंका दर्शकलाई हाँस्दाहाँस्दै सोच्ने बनाइदियो । र त्यो नाटक लिएर काठमाडौं छिर्ने कलाकार थिए, कर्णालीका हिरा बिजुली नेपाली । उनी तिनै हुन्, जसले २०६४ सालमा मुगुमा कर्णाली नाट्य समूह स्थापना गरे । र पहिलो काम गरे संविधानसभासम्बन्धी सडक नाटकमार्फत जागरण फैलाउने ।
आज देशमा संविधान बनिसक्यो । धेरै परिवर्तन आइसक्यो । त्यसलाई उनले कसरी हेरेका छन् । सुरूवातदेखि आजसम्म कसरी काम गरिरहेका छन् ? के गरिरहेका छन् ? दिनेश काफ्लेले लिएको यो अन्तर्वार्तामा त्यसैको चर्चा छ ।
कर्णाली नाट्य समूहमा अहिले कस्तो काम भइरहेको छ ?
हामीले १० वर्षदेखि सामाजिक न्यायका लागि रङ्गमञ्च भन्ने मूल मन्त्रसहित समुदायमा रङ्गमञ्चीय गतिविधि गरिरहेका छौं । मान्छेहरु नाटक हेर्न र खेल्न इच्छुक छन् । समुदायमा नाटकलाई सम्मान गर्ने माहोल बनेको छ । १७ वर्ष बिताउँदा हामीले हाम्रो उदेश्य पत्ता लगाएका छौं । त्यो भनेको हामी कहाँ जान्छौं र जानेछौं भन्ने हो । सामाजिक न्यायका लागि रङ्गमञ्चका अलावा हामी अहिले कलाकार उद्यमशीलताबारे पनि कुरा गरिरहेका छौं । त्यसैका लागि रङ्गमञ्चमार्फत अघि बढिरहेका छौं ।
समुदायको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
२०६४ सालमा हामीले नाटक सुरू गर्दा महिला अनि कथित उच्च जातिका मान्छे हाम्रो टिममा आउन चाहँदैनथे । किनभने मनोरन्जन गराउने काम कर्णालीमा कथित तल्लो जातका मान्छेहरु अर्थात् कथित दलितहरुले गर्ने भन्ने थियो । महिला कलाकार पाउनै गाह्रो हुन्थ्यो । कथित दलित भनिएका मान्छेहरुले त्यो पेसा धान्दै आएकाले गर्दा नाटक पनि दलितले नै गर्ने हो, नाच्ने पनि दलितले नै गर्ने हो भन्ने सोचलाई आजको समयमा परिवर्तन गरेका छौं । काठमाडौंका हरेक रङ्गमञ्च वा फिल्म पढाइ हुने ठाउँमा जानुहोस्, कोही न कोही कर्णालीको युवा पढिरहेको पाउनुहुन्छ । युवायुवतीहरु निर्देशन, फिल्म मेकिङ पढिरहेका छन् ।
काठमाडौंको थिएटर तपाईंलाई कस्तो लाग्छ ? हेर्ने वातावरण कस्तो छ ?
हामीले कर्णालीमा गरिरहेको कलाको अभ्यास यहाँको थिएटरले बुझ्दैन, यहाँको उद्योगले त्यो लिँदैन । हामी एकदमै वैज्ञानिक तरिकाले दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेका छौं । हामीले संरक्षणको कुरालाई चिरफार गर्दै लगिरहेका छौं । स्टेजमा नाच्न मात्र होइन, राम्रा राम्रा कुरालाई केलाउनुपर्छ भन्ने हाम्रो चाहना हो । त्यसमा हामी काम गरिरहेका छौं । हामीले सन् २०१९ मा ‘गर्भ शिखा’ नाटक ग¥यौं । त्यो नाटकमा हामीले त्यहाँको एउटा कुरीतिमाथि प्रश्न गरेका थियौं । संस्कृतिका नाममा कुरीतिलाई हामीले थन्क्याएर राख्नुहुँदैन भनेर त्यसमाथि हामीले काम गरिरहेका छौं ।
राज्यको केही सहायता छ ?
छैन । हामी राज्यको विरोध गर्छौं । शक्तिको विरोध गर्छौं । शक्तिको विरोध गर्नेहरुले कहिल्यै पनि सहायता गर्दैनन् भन्ने हाम्रो मोडालिटी हो ।
अनि आर्थिक समस्या त पर्छ होला नि ?
धेरै आर्थिक समस्या छन् । तर हामी राज्यका विरूद्धमा, शक्तिका विरूद्धमा बोलेर सीमान्त मान्छेहरुको पक्ष गर्ने मान्छे पनि धेरै छन् । उहाँहरुको व्यक्तिगत सहयोगबाट हामी संस्था चलाइरहेका छौं । हाम्रो विचारलाई समर्थन गर्ने करिब ५० भन्दा बढी व्यक्ति वा साथीहरुको पैसाले हामी चलिरहेका छौं । पहिले हामी एजेन्सीको काम पनि गथ्र्यौं । हामी सन्देश पु¥याउने माध्यम थियौं । त्यो हाम्रो जीविकोपार्जनको एउटा पाटो थियो ।
अहिले अन्तर्राष्ट्रिय नाटक महोत्सव भइरहेको छ । यस्ता महोत्सवबाट कस्तो सहायता पाउनुभएको छ ?
हामीले २०६५ सालमा ‘कर्णाली दक्षिण बग्दछ’ नाटक गुरूकुलमा भएको काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवमा देखायौं । त्यसपछि मैले आफैं पनि राजन खतिवडाले निर्देशन गरेको नाटक खेलेको थिएँ । ‘कर्णाली दक्षिण बग्दछ’ नाटकपछि हाम्रा साथीहरुले अर्को नाटक ‘कुडा कर्णालीको’ गरे । तिनमा हामीले हिजो छेकेको कुरा उठाएका थियौं । यो पटक पनि हामीले आवेदन दिएका थियौं । तर जहिल्यै पनि पनि बजेटको कुरा गर्ने, तपाईंहरु टाढा हुनुहुन्छ बजेट छैन भन्ने कुरा भयो ।
अहिले काठमाडौंले कथा भन्ने तरिकालाई कसरी हेर्नुभएको छ ?
एक जना मान्छे काठमाडौंमा बस्छ । उसले कहाँको कथा ल्याउँछ । इलामको मान्छे आउँछ, कैलालीको कथा ल्याएर नाटक गर्छ । उसलाई आफ्नो घरको कथा थाहा छैन । पहिले त उसले आमाको कथा भन्नुप¥यो । त्यहाँ न्याय दिनुप¥यो । समग्रमा कला भनेको नै सामाजिक मुक्तिको अनि उन्नतिका लागि समाजमा समानता सिर्जना गर्नलाई चाहिने हो । दबिएका मान्छेको मुक्तिका लागि हो । हाम्रो दृष्टिकोण रमाइलो गर्ने मात्र होइन । रङ्गमञ्च रमाइलो, नाटक रमाइलो, सङ्गीत रमाइलोका लागि मात्र गरिएको होइन । त्यो कारणले उहाँहरु र हाम्रोमा बीचमा कुनै न कुनै खाले तह छ । त्यसले गर्दा हामी नमिसिने, अलिकति एक्लो हुने, तथा हामी विचारमा अलिक फरक रहने भएको हो कि जस्तो आज चाहिँ लाग्छ ।
त्यो जालो तोड्न के गर्नुपर्ला ?
त्यो जालो तोड्न उहाँहरुले समाजप्रति उत्तरदायी हुनुपर्छ । समाजप्रति अलिकति जिम्मेवार हुनुभयो भने हाम्रो कुरा बुझ्नुहुन्छ । अब अहिले मैले सम्झेर एउटा नाटक लेखें भने यो जात व्यवस्था, माओवादी जनयुद्धभित्र जात व्यवस्थाकोे कथा हुन्छ । नेपालमा चाहिँ माओवादी भन्नेबित्तिकै मा¥यो, हान्यो, काट्यो भन्ने जुन भाष्य निर्माण गरिएको छ, दलितका आँखाबाट हेर्ने हो भने त्यो कस्तो होला र दलित के त्यहाँ भित्र जात व्यवस्थाको उत्पीडन थिएन त भन्ने आँखाबाट हेरिन्छ । तर त्यो चाहिँ छानिएन । त्यो न्यारेटिभ्समै समस्या थियो । हामीले पूर्वतयारी पनि थिएनौं । तर कर्णालीले प्रतिनिधित्व गर्ने हो भने त अलिकति इमानदार र खुकुलो पनि हुन सक्छ महोत्सव । अलिकति त्यो भइदिए तत्कालै हामी गरिहाल्छौं । किनकि ‘कुभिन्डो’ त एउटा नाटक हुँदाहुँदै ‘कुभिन्डो’को रिहर्सल भएको छ । त्यो नाटक र हाम्रो नाटक एकै दिन निश्चित भएको हो । हामी त रिहर्सल गर्न सक्थ्यौं नि त । यहाँ थारुको कथा भएको नाटक काठमाडौंको दिया मास्केले गरेको प्रतिनिधित्व भयो । तर बर्दियाको मान्छेको प्रतिनिधित्व भएन । यस्ता कुराले गर्दा प्रतिनिधित्वमा समस्या देखियो । महिला प्रतिनिधित्व चाहिँ हो । तर महिलाहरुको उत्कृष्ट प्रतिनिधित्व चाहिँ त्यो थिएन ।
यो जारी महोत्सवमा अन्तका नाटक हेर्नुभयो ?
मैले पोखराको नाटक ‘इन्द्रेणी’ हेरें । हेर्ने धेरै मान्छे देखेको थिएँ । नेपालमा पनि अलिकति अलग काम गर्ने अभ्यास भएको छ जस्तो देखेर मलाई खुसी लाग्यो । किनभने नेपालीहरुले नाटक भन्नेबित्तिकै लामा संवाद सुन्ने हो नि त । स्वाद नै हामीले त्यस्तै त्यस्तै बनाएका छौं । त्यसले गर्दा हामीमा ठूला ठूला आदर्शवादी संवाद भएका नाटक हेर्ने मात्र बानी छ । त्यसको विपरीत पोखराको नाटकले छुट्टै स्वाद दियो । यो नाटक हेर्दा पूरै दिमाग चलाउनुपर्ने रहेछ । नाटकले शब्दमा सीमित बनाएन बरू समग्र कथालाई शब्द शब्दले चित्रण ग¥यो । शब्दले थिचेर राखेको कुरालाई कलाकारको शरीरले मात्र पनि देखायो । देखाएको छ ।
कर्णालीमा नाटकको चेत कस्तो छ ?
कर्णालीको आवाज चर्को छ । कर्णालीले प्रतिरोध गरेर डाँडाहरु छिचोलेर गएको छ । कर्णाली आफैं पनि एउटा प्रतिरोध हो । हिजो कर्णालीका मान्छेले भोकका लागि प्रतिरोध गरेका छन् । बाटो पु¥याउनलाई प्रतिरोध गरेका छन् । कर्णालीमा अहिले पनि जात व्यवस्थाका लागि प्रतिरोध गरिएको छ । आज पनि ६–६ जना मान्छे नदीमा दिउँसै मारेर फालिएको छ । कर्णालीको रङ्गमञ्च नै प्रतिरोधको रङ्गमञ्च हो । यो थिएटर भाषामा भन्दा प्रतिरोधको रङ्गमञ्च हो । यसले समाजका विसङ्गतिविरूद्ध प्रतिरोध गर्छ । राज्यको दृष्टिकोणविरूद्ध प्रतिरोध गर्छ । एकीकृत राज्य व्यवस्थाविरूद्ध प्रतिरोध गर्छ । कर्णालीको रङ्गमञ्चको खास विशेषता त्यो हो जस्तो लाग्छ मलाई । कर्णालीको अथाह संस्कृति सत्यमोहन जोशीले वर्णन गरे जस्तै त्यो जुम्लामा मात्रै वा सिन्जामा मात्रै होइन । एउटा भाषामा निस्किँदासम्मको त्यो फरक कुरा हो । म त्यतातिर जाँदिनँ । तर यस्तो संस्कृति, त्यस्तो संस्कृति हुँदाहुँदै पनि मान्छेहरु भोका छन् । मान्छेहरु त नाङ्गै छन्; एउटै सिटामोल नखाई मर्न विवश छन् । गर्भवती हुन उचित अस्पताल नपाएर मरिरहेका छन् । यसका विरूद्धमा कुरा उठाउनु, यसका विरूद्धमा अगाडि आवाज राख्नु कर्णालीको रङ्गमञ्चको दायित्व हो । कर्णालीको रङ्गमञ्च पूर्ण रुपमा समाजप्रति उत्तरदायी हुनुपर्छ । यहाँ एकदुई जनाले रमाइलो गरे, मनोरञ्जन गरे, जागिरेले सडक नाटक गरे भन्दा केही हुँदैन । कर्णालीको मेन थिएटरको न्यारेटिभ के हुनुपर्छ भन्दा प्रतिरोधको न्यारेटिभ हुनुपर्छ । जनतालाई जगाउने न्यारेटिभ दिनुपर्छ । यसले शक्तिलाई घुँडा टेकाउने न्यारेटिभ दिनुपर्छ ।
त्यो काम कति हदसम्म गर्न सकियो त ?
हामीले धेरै हदसम्म गरेका छौं । धेरै अभ्यास गरिसकेका छौं । हामी सुर्खेतमा आउने मुख्य कारण नै शक्ति राज्यको शक्ति सुर्खेतमा गयो । त्यहाँ मन्त्रीहरु छन्, चिल्ला गाडी चढ्ने त्यहीँ छन् । अब तिनीहका घर आँगन, मन्त्रालयका अगाडि हामी सडक नाटक गर्छौं । अब हामीले त्यो पनि अभ्यास गर्दै छौं ।