‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ यो नारा चुलाचुली रङ्गमञ्च, इलाम नाट्य संस्थाको हो । कुनै पनि संस्थाको नाममाथि टाउकोमा नारा राख्ने यो पुरानो शैली हुन सक्छ । तर चुलाचुली रङ्गमञ्च, इलामका लागि यो नारा नै काफी लाग्छ । इलाम जिल्लाबाटै दुर्गम क्षेत्रमा स्थापित भएको चुलाचुली रङ्गमञ्चले नाटकलाई सधैं मनोरञ्जनभन्दा बढी सामाजिक रुपान्तरणका लागि दृश्य माध्यमका रुपमा लिँदै आएको छ । डेढ दशकअघिको आफ्नो समाज र त्यसमा रहेका सामुदायिक विकृति, हिंसा, छुवाछूत, विभेद र सांस्कृतिक विषयहरुमाथि नाटक गर्दै आएको चुलाचुली रङ्गमञ्चको काम धेरै समय साँच्चै दुर्गम जस्तै थियो ।
हामीले गर्ने नाटकको प्रक्रिया पनि आलोकाँचो रहन्थ्यो । विकास भनेको भौतिक संरचनाको निर्माण, बाटो तथा बिजुली विस्तार अनि कृषकहरुलाई बीउबिजन तथा कृषि सामग्री वितरणभन्दा माथि छैन भन्ने जनप्रतिनिधिहरुको बुझाइविरूद्ध नाटक गर्नुपर्ने प्रक्रियामा अलिकति चेतनास्तरको कुरा नै माथि रहन्थ्यो । तथापि केही कला तथा अभिनयप्रति रूचि भएका कलाकारको उपस्थितिलाई नाटकको विषयमा सङ्क्षिप्त जानकारी गराएर दृश्य रचना गर्ने प्रक्रिया चलिरहयो । जे सोच आउँथ्यो, त्यही विषयमा नाटक बनाउँदा बढीजसो नाटक कलात्मकभन्दा पनि विचारत्मक हुने गर्दथ्यो ।
२०६५ सालमा इलामको चुलाचुली गाउँपालिकामा नाटकको शैलीमा परिवर्तन आयो । यसअघि हातमा माइक्रोफोन समाउँदै नाटकको संवाद बोलेर अभिनय गर्नुपर्ने अवस्थामा थियो । खट्याको मञ्च बनाएर ओछ्याउने तन्नाको पर्दा लगाउँथ्यौं । २०७० यता भने गाउँमा रङ्गकर्म गर्दै आएको चुलाचुली रङ्गमञ्च इलाम र म स्वयम्को काम गर्ने शैलीमा केही फरकपन आउन थाल्यो । त्यो आधार नाटकभन्दा पनि नाट्यघरले दियो । नाट्यघरमा प्रविधिले धेरै कुरासँगै कामको आइडिया सिकाउने रहेछ । २०७३ सालमा दोलखा चरीकोटामा भएको नाटक महोत्सवले जुन अवसर ल्यायो, त्यसले धेरै कुरा सिकायो ।
गाउँमा नाटक गर्दाको समस्या वा अप्ठ्यारो जे भने पनि कलाकारलाई टिकाउन नसक्नु हो । नाटक उत्पादनका लागि लाग्ने खर्च जुटाउने निश्चित स्रोत नहुँदाको समस्या पनि छँदैछ । नाटकघरको व्यवस्थापन नहुनाले राज्यको लगानीमा बनेको सार्वजनिक सामुदायिक भवनको झ्याल, ढोका टाल्नु पर्दाको हैरानी छ । नाटक हेर्न गाउँलेहरुलाई खबर गरेर भेला पार्न झनै अप्ठ्यारो हुन्छ ।
म स्वयंमले काम गर्नु परेको नाटकहरु किपट, सिमिक्वा, देवाङसी राजा, खाल्डो, माङ्गेना, रिठ्ठू, बुद्ध र भिखारी, देखि झोडा सम्म आइपुग्दा नाटक गर्ने प्रक्रिया धेरै फरक पाएको छु । यि त प्राय नेपाली रङ्गमञ्चमा गरिँदै आएको नाटकहरुको प्रक्रिया थियो । शैली उहि थियो । मात्र नाटकघर थिएन । नाटकका तत्व अपुग थिए । बजेट अत्यन्तै कम । त्यसमा बजार व्यवस्थापनको अभाव ।
गाउँमा काम गर्दै आएको भएर चुलाचुली रङ्गमञ्चले गर्ने नाटक पुर्वी शहरहरुमा बन्ने नाटकहरु भन्दा केहि फरक हुने गर्छ । भौगोलिक परिवेशकै कारण नाटकको प्रोडक्शनमा ध्यान दिनु पर्ने रहेछ । पछिल्लो समय हामीले स्थानीय कच्चापदार्थलाई थप प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।
मलाई नाटकको लेखन, निर्देशन भन्दा व्यवस्थापनमा बढि काम गर्न मज्जा लाग्छ । यो पाटो एकदमै व्यवहारिक लाग्छ जुन कामले एउटा नाटक प्रोडक्शन टिमभित्र समाज, समुदाय, संस्कृति, भाषा, भेष लगायतलाई मिलाउँछ । यहि वास्तविकतालाई बुझ्न मेरो नेतृत्वमा २०७९ माघ १० देखि ११ गते सम्म “दोस्रो चुलाचुली पाठशाला नाट्य उत्सव २०७९” को आयोजना हुने भयो । यो मुक्क्त रङ्गमञ्चको परिकल्पनामा पथ्र्यो । डेढ दशक देखि घरियासी नाट्यघर निर्माण गर्न नसक्नु अनि नाटकमा गुणस्तर ल्याउन नपाउनुको बाध्यताबीच हामीले उत्सवलाई समुदायसँगको नाटक उत्सव बनाउने विचार ग¥यौं ।
पहिलो प्रक्रिया ठाउँ छनोट थियो । त्यो निकै फराकिलो, खुला हुनुपर्ने थियो । खोज्दै जाँदा चुरे पहाडहरुको फेदीमा रहेको मिलन पोखरी पर्यटन क्षेत्रभित्र खोजे जस्तै ठाउँ भेटियो । त्यो पर्यटन क्षेत्र संरक्षण गर्ने टोल र त्यहाँका गाउँलेहरुसँग छलफल गरियो । कला, नाटकले पर्यटनसँगै गाउँका सौन्दर्यलाई पहिचान गर्ने भएपछि, गाउँलेहरुले खानालगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन हेरिदिने भयो । हामीले नारा बनायौं, ‘प्रकृतिको सत्सङ्गमा जाऔं, रङ्गकर्ममा रमाऔं र आफू स्वयम्सँग संवाद गरौं ।’ यो प्रयोग नेपाली रङ्गमञ्चका लागि नयाँ थियो । थाहा भए सम्म यो पहिलो प्रयोग थियो ।
त्यहाँ मञ्चन हुने प्रायः नाटकहरु प्रकृतिसम्बन्धी विषयमा थिए । जङ्गलभित्र एम्पी थिएटरको आकारमा पाठशाला नाट्य उत्सवका लागि दर्शकहरु ल्याउने आइडिया केही थिएन । गाउँमा नाटक गर्दै आएका अनि केही नाटकहरु हेर्दै आएका गाउँले दर्शकहरुका लागि न पोस्टर, न ब्यानर, केही प्रचारप्रचार गरेनौं । त्यही पनि गाउँ घरमा खेतालो हिँडेको जस्तै गरी गाउँका मानिस नाटक हेर्न उपस्थिति भए । गाउँमा प्रायः कार्यक्रममा बज्ने जस्तो चर्को ध्वनि बज्ने कुनै पनि डिजिटल बाजागाजाहरु थिएनन् । प्रकृतिमा जे छ, त्यही नै हाम्रो नाटकको सेट थियो, रङ्ग थियो । प्रकाश थियो । ध्वनि थियो । यी आइडियाको नाटक उत्सवले अर्को महसुस गराएको थियो । नाटक गर्नलाई व्यवस्थित नाटकघर आवश्यक छैन । सीमित दर्शक राखेर ब्ल्याक बक्स थिएटरमा नाटक देखाउँदा आर्थिक र व्यावसायिक रुपमा केही फाइदा होला । तर यो शैलीमा देखाउँदा गाउँका मान्छेले पनि नाटक देख्न पाए । अनि त्यो सफलताले हामीलाई एकै पटक खुला मञ्चमा सयांै कलाकारहरु र हजारौं दर्शकहरुको उपस्थिति गराउन सक्ने उत्सव गर्ने उर्जा थपेको छ ।
गाउँमा नाटक गर्दा होस् या सहरमा आर्थिक समस्या उस्तै छ । दर्शक समस्या उस्तै छ । अझै ठूलो अप्ठ्यारा भनेको स्थानीय सरकारहरुले कला, नाटक क्षेत्रलाई नबुझिदिनु हो । बुझाउनुपर्दाको हैरानी अनि आर्थिक सहयोग लिन कागजी प्रक्रियाको झन्झट त छँदै छ । यो आर्थिक समस्या चुलाचुली रङ्गमञ्च, इलाम नाट्य संस्थामा जस्तै अरु नाट्य संस्थामा पनि छन् । पूर्वमा गाउँमा भन्दा साना सहरी क्षेत्रमा नाटक गर्ने संस्थाहरु सक्रिय रुपमा छन् । प्रायः उनीहरुको नाटक गर्ने शैली पुरानै देखिन्छ, जसमा नयाँ कथामा लेखिएका नाटकहरुभन्दा मञ्चन भइसकेका, कति विदेशी रुपान्तरण भएका नाटक मञ्चन गर्ने चलन छ । वर्षको धेरै नाटक एकै पटक मञ्चन भएको २०८० सालको असोज पूर्वमा नाटक पर्व नै भएको थियो । सङ्घीय राजधानीबाहिर रहेका रङ्गकर्मीहरुको समस्या व्यवस्थित नाट्यघर नहुँदाको प्राविधिक समस्या भने हिजोदेखि जे थियो, त्यही नै छ ।
पूर्वमा कदम थिएटर, परिवर्तन थिएटर, चेतना नाट्य समूह, झोराहट थिएटर र रङ्गभूमि एकाडेमी आदि सक्रिय रुपमा रहेका नाटय संस्था हुन् । यी सबैले वर्षमा कम्तीमा केही नाटक गर्ने गरेका छन् । केहीले नाट्य उत्सव प्नि गरेका छन् । परिवर्तन थिएटर झापाले अन्तरविद्यालय नाट्य उत्सव गर्ने गरेको छ । यी सबैको आ–आफ्नै काम गर्ने शैली छ । तर एकअर्कोमा सहकार्य हुने गरेको पाइन्छ ।
नेपालमा हुने केही नाटक महोत्सवहरुले भने रङ्गमञ्च र रङ्गकर्मीहरुको ऊर्जा र सपना बचाउने काम गरेको पाइन्छ । जसको उदाहरण, मण्डला थिएटर नेपालले गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हो । यसले गाउँमा रहेको रङ्गकर्मलाई ब्युँउझाउने काम गरेको छ । हरेक वर्षमा यस्तै महोत्सव गर्ने हो भने मात्र पनि नेपाली रङ्गकर्मको विकास राष्ट्रियको पहिचान यसले अन्तर्राष्ट्रियस्तरमा आउने जाने सम्बन्धको विकास गर्ने छ ।
तर यस्तो भन्दै गर्दा मेरो विचारमा नाटक महोत्सवहरु अझै भने जस्तो हुन सकेका छैनन् । काम गरिरहेका थिएटरहरु एकीकृत हुन नसक्दा केही कमजोरी देखिएको हुन सक्छ । नाटक महोत्सवका आयोजक सङ्घीय राजधानीबाहिर पनि निस्कन आवश्यक छ । राजधानीबाहिरको नेपाली रङ्गकर्म अनि रङ्गकर्मीहरुलाई हौसला दिँदै सहकार्य गर्न आवश्यक छ । काम गर्दै आएको महोत्सवहरुको उपलब्धि र त्यसका महङ्खवहरुमाथि विभिन्न प्रदेश, नगर, गाउँपालिका र वडापालिका सरकार हरुसँग साक्षात्कार अभियान ल्याउन सके सिङ्गो नेपाली रङ्गकर्मले विभेदका सीमा भत्काउन सक्थ्यो कि ?