रमेश रञ्जन झा धनुषाको परवाह गाउँमा जन्मिए । उनको गाउँमा दसैं, तिहार र छठ जस्ता पर्वको अवसर पारेर युवाहरुले नाटक गर्थे । त्यस्तै परम्पराबाट हुर्केका उनी नाटक र साहित्यमा मैथिली क्षेत्रको प्रतिनिधित्व गर्ने नाम बनेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सन् २०१० देखि २०१८ सम्म दुई कार्यकाल प्राज्ञ परिषद् सदस्य भएका उनले त्यहाँ नाटक विधाका प्रमुखका रुपमा काम गरिसकेका छन् । सन् १९९५ मा मैथिली फिल्म ‘कनियाँ’बाट अभिनयमा पनि प्रवेश गरेका उनका उपन्यास, कथा, नाटक र कविता गरी १३ पुस्तक प्रकाशित छन् । मधेसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन खोज्न लामो समय लगाएको राजधानीमा भइरहेको पछिल्लो नाट्य महोत्सवलाई एक मैथिली समुदायको आँखाबाट उनले कसरी हेरेका छन् ? उनले नेपालमा अहिले भइरहेका नाटकलाई कसरी बुझेका छन् ? दिनेश काफ्लेले झासँग लिएको यो अन्तर्वार्ताले यिनै विषयमा विमर्श गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवलाई एक नाट्यकर्मीका रुपमा कसरी हेर्नुभएको छ ?
मानव जीवनका लागि उत्सवको खास महङ्खव हुन्छ । त्यसैले पहिलो कुरा त नाटकको उत्सव हुनु नै महङ्खवपूर्ण कुरा हो । मान्छेको जीवनमा नैराश्य र हताशपनालाई ‘ब्रेक’ गर्नलाई नै मानव सभ्यताको विकाससँगै उत्सव पनि सुरू गरियो । सन् २०१९ मा आएको कोभिडले सबै कुरा प्रभावित थियो । नाटककै लागि केही हुन सकिरहेको अवस्था थिएन । त्यस्तोमा ३–४ वर्षको अन्तरालमा पहिलो पटक राजधानीमा नाटक उत्सव भयो । गत वर्ष जनकपुरमा मैथिली विकास कोषमार्फत हामीले नाटक उत्सव ग¥यौं । त्यहाँ मैथिली, नेपाली, मणिपुर, पटना र आसामका गरी आठ टिम सहभागी थिए । नेपालमा अन्तर्राष्ट्रियस्तरमा रङ्गमञ्चको गतिविधि छ र त्यो गतिविधि अझै पनि जीवन्त अवस्थामा छ भनेर यो महोत्सवको भूमिका छ ।
महोत्सवमा मञ्चन भएका नाटकमा कस्ता विशेषता पाउनुभयो ?
नाटक त जति पनि हेरेको छु । मेरो बुझाइमा विश्व थिएटरमा कन्टेम्पोररी नाटक बढेसँगै संसारमा नाटकले जुन आफ्नो आयाम विस्तार गरेको छ, त्यो यहाँ पनि देखियो । त्यस्ता नाटक यो अन्तर्राष्ट्रिय नाटक फेस्टिभलमा होस् भन्ने कुरालाई हामीले पनि चाहेको देखियो । विषयवस्तु, प्रस्तुतीकरण हरेक हिसाबमा वा प्रविधि प्रयोगको स्तरमा नेपाली नाटक पनि र नेपालबाहिरका नाटक पनि अब्बल छन् । यहाँका नाटकले अहिले विश्व थिएटरमा भइरहेको कामको लेभल बढाएको छ ।
सँगै नेपाली रङ्गमञ्च कति समकालीन र उन्नत भएर गइरहेको छ पनि देखाएको छ । जस्तो कि एउटा नाटक ‘थ्री कन्ट्री वान मदर’मा भुटानी कलाकारले अभिनय गरेका थिए भने त्यस नाटकको निर्देशक अमेरिकी थिइन् । त्यो नाटकले चरित्रको भाषालाई बलियो गरी प्रतिनिधित्व गरेको थियो । मान्छेको सपना अमेरिका सपना हो र ? कि यो भाषा, संस्कृति, पीडा, छटपटी हो ? नाटकले त्यो छटपटीलाई जसरी प्रस्तुत गरेको थियो, मलाई लाग्छ त्यो देखाउनैपर्ने चीज थियो ।
यो महोत्सवमा के–कस्ता सुधार गर्नुपर्ने देख्नुभएको छ ?
केही कुरा पनि पूर्ण हुँदैन । त्यसमा केही न केही कमजोरी हुन्छ । मलाई खट्किएको कुरा भनेको चाहिँ भाषागत रुपमा नेपालको प्रस्तुतिमा विविधता देखिएन । किनकि नेपाल भनेको एउटा भाषाको मात्रै होइन । नेपाल भनेको विभिन्न भाषाभाषी र संस्कृतिको प्रतिनिधित्व गर्ने देश हो । यो देशको सामथ्र्य नै त्यही विविधतामा छ । तपाईं नेपाली संवाद बोलिरहनुभएको छ भन्दैमा त्यो नेपाली नाटक हुँदैन । नेपाली नाटकको प्रारम्भदेखि पनि यो समस्या हो । नेपालको विकासक्रमको कुरा हेर्दा सिम्रौनगढबाट सुरू भएर नाटक काठमाडौं उपत्यकामा समृद्धितर्फ बढ्दै गयो । त्यति बेला हुने मल्लकालीन नाटकमा मैथिली, नेवारी र नेपाली भाषाको नाटक हुन्थे । भाषाको मामलामा पनि हामी त्यो बेला उदार थियौं । रङ्गमञ्च संस्कृत नाटक परम्पराबाट दीक्षित भएर आइरहेको थियो । त्यो लोक जीवनतिर गइरहेको थियो । भाषिक हिसाबमा गइरहेको थियो । तर शाहवंश आएपछि त्यसलाई ठ्याक्कै ब्रेक गरिदियो र भारतीय उस्तादहरुलाई ल्याएर यहाँ राखिदियो । त्यो रङ्गमञ्च नै यहाँ नेपालको रङ्गमञ्च भयो । त्यसलाई विस्थापित गर्न यहाँ बालकृष्ण समको नेतृत्वमा जुन एउटा सक्रिय काम भयो, त्यो कामलाई एक हिसाबले यो क्रान्तिकारी काम थियो भनेर पनि विवेचना गर्न सकिन्छ ।
बाहिरका नाटकबाट हामीले सिक्नुपर्ने कुरा के छन् ?
एउटा ऐतिहासिक दोषको कुरा भइरहेको छ । पार्सीलाई विस्थापित गर्नलाई त्यति बेला हामीसँग पर्याप्त ‘टेक्स्ट’ थिएन । हामीसँग नाटक थिएन । तर हामीसँग पर्फर्म आर्ट त थियो, जुन विभिन्न आदिवासी समुदाय र यहाँको जनजाति समुदाय विभिन्न सांस्कृतिक समुदायभित्र थियो । त्यो आर्ट र मान्छेको कथा लिएर त्यो आर्टसँग जोडेर लिएर एउटा नयाँ सोच विकास गरेको भए हाम्रो नाटकको आफ्नै पहिचान हुन्थ्यो । तर यहाँ सेक्सपियरियन नाटकको हुबहु नक्कल ल्याएर देखाइयो । त्यहीकारण आजको दिनमा धेरै विदेशी नाटक हेरिरहेका छौं । ती नाटकको हामीले सिर्जनात्मक प्रयोग गर्ने हो, न कि उहाँहरुको सबै कुरालाई हुबहु नक्कल गर्ने । मुख्य समस्या यो छ । त्यो पहिचान बनाउन जुन सकस अहिले भइरहेको छ, त्यसको जरो कारक यो हो भन्ने मलाई लाग्छ । हाम्रो जुन सांस्कृतिक विविधता हो, त्यसलाई हामी स्वीकार गरेर नलगे हामी त्यो विविध हुन सक्दैनौं । त्यो विविधता यो फेस्टिभलमा कमी छ ।
अहिले जनकपुरको मैथिली रङ्गमञ्चमा के–कस्ता काम भइरहेका छन् ?
यहाँ समस्या छन् । थिएटरका हिसाबले कुनै बेला जनकपुर एउटा पहिचान थियो । खासगरी मैथिली थिएटरका लागि । पछिल्लो क्रममा त्यहाँको गतिविधिमा पनि अलिकति ह्रास आएको छ । बीचमा केही गतिविधि यति शान्त रह्यो कि, जसले गर्दा फेरि माथि जान सकेन । तर अब अति भइसक्यो । कुनै ठाउँमा कति दिनसम्म शान्त रहन्छ भन्ने हो । हामीले केही निर्माण ग¥यौं । मैले दुईतीन ओटा प्रोडक्सन गरें । अनि म काठमाडौं आएपछि राम्रो काम भएको छ । म आफैं एउटा नाटक लिएर नयाँ दिल्लीस्थित श्रीराम सेन्टरमा गएको थिएँ । त्यसपछि प्रियङ्का झाले यहाँ काठमाडौंमा एउटा नाटक गर्नुभयो । घिमिरे युवराजले पनि मेरो एउटा नाटक गर्नुभयो । तर यो सबै यहाँको प्रोडक्सन भयो । जनकपुरकै निर्माणका रुपमा भने अझै नाटक आएको छैन । यो चिन्ताको विषय हो ।