महोत्सवका आयोजक काठमाडौं बाहिर पनि निस्कन आवश्यक छ 

This article was published in: Reflections II
Content type: Article
Chetan Angthupo
DCIM100MEDIADJI_0804.JPG

‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ यो नारा  चुलाचुली रङ्गमञ्च, इलाम नाट्य संस्थाको हो । कुनै पनि  संस्थाको नाममाथि टाउकोमा नारा राख्ने यो पुरानो शैली हुन  सक्छ । तर चुलाचुली रङ्गमञ्च, इलामका लागि यो नारा नै काफी  लाग्छ । इलाम जिल्लाबाटै दुर्गम क्षेत्रमा स्थापित भएको चुलाचुली  रङ्गमञ्चले नाटकलाई सधैं मनोरञ्जनभन्दा बढी सामाजिक  रुपान्तरणका लागि दृश्य माध्यमका रुपमा लिँदै आएको छ । डेढ  दशकअघिको आफ्नो समाज र त्यसमा रहेका सामुदायिक विकृति,  हिंसा, छुवाछूत, विभेद र सांस्कृतिक विषयहरुमाथि नाटक गर्दै  आएको चुलाचुली रङ्गमञ्चको काम धेरै समय साँच्चै दुर्गम जस्तै  थियो ।

हामीले गर्ने नाटकको प्रक्रिया पनि आलोकाँचो रहन्थ्यो । विकास भनेको भौतिक  संरचनाको निर्माण, बाटो तथा बिजुली विस्तार अनि कृषकहरुलाई बीउबिजन तथा  कृषि सामग्री वितरणभन्दा माथि छैन भन्ने जनप्रतिनिधिहरुको बुझाइविरूद्ध नाटक  गर्नुपर्ने प्रक्रियामा अलिकति चेतनास्तरको कुरा नै माथि रहन्थ्यो । तथापि केही कला  तथा अभिनयप्रति रूचि भएका कलाकारको उपस्थितिलाई नाटकको विषयमा सङ्क्षिप्त  जानकारी गराएर दृश्य रचना गर्ने प्रक्रिया चलिरहयो । जे सोच आउँथ्यो, त्यही  विषयमा नाटक बनाउँदा बढीजसो नाटक कलात्मकभन्दा पनि विचारत्मक हुने  गर्दथ्यो ।  

२०६५ सालमा इलामको चुलाचुली गाउँपालिकामा नाटकको शैलीमा परिवर्तन आयो ।  यसअघि हातमा माइक्रोफोन समाउँदै नाटकको संवाद बोलेर अभिनय गर्नुपर्ने  अवस्थामा थियो । खट्याको मञ्च बनाएर ओछ्याउने तन्नाको पर्दा लगाउँथ्यौं । २०७०  यता भने गाउँमा रङ्गकर्म गर्दै आएको चुलाचुली रङ्गमञ्च इलाम र म स्वयम्को  काम गर्ने शैलीमा केही फरकपन आउन थाल्यो । त्यो आधार नाटकभन्दा पनि  नाट्यघरले दियो । नाट्यघरमा प्रविधिले धेरै कुरासँगै कामको आइडिया सिकाउने  रहेछ । २०७३ सालमा दोलखा चरीकोटामा भएको नाटक महोत्सवले जुन अवसर  ल्यायो, त्यसले धेरै कुरा सिकायो ।  

गाउँमा नाटक गर्दाको समस्या वा अप्ठ्यारो जे भने पनि कलाकारलाई टिकाउन  नसक्नु हो । नाटक उत्पादनका लागि लाग्ने खर्च जुटाउने निश्चित स्रोत नहुँदाको  समस्या पनि छँदैछ । नाटकघरको व्यवस्थापन नहुनाले राज्यको लगानीमा बनेको  सार्वजनिक सामुदायिक भवनको झ्याल, ढोका टाल्नु पर्दाको हैरानी छ । नाटक हेर्न  गाउँलेहरुलाई खबर गरेर भेला पार्न झनै अप्ठ्यारो हुन्छ ।

म स्वयंमले काम गर्नु परेको नाटकहरु किपट, सिमिक्वा, देवाङसी राजा, खाल्डो,  माङ्गेना, रिठ्ठू, बुद्ध र भिखारी, देखि झोडा सम्म आइपुग्दा नाटक गर्ने प्रक्रिया धेरै  फरक पाएको छु । यि त प्राय नेपाली रङ्गमञ्चमा गरिँदै आएको नाटकहरुको  प्रक्रिया थियो । शैली उहि थियो । मात्र नाटकघर थिएन । नाटकका तत्व अपुग  थिए । बजेट अत्यन्तै कम । त्यसमा बजार व्यवस्थापनको अभाव ।  

गाउँमा काम गर्दै आएको भएर चुलाचुली रङ्गमञ्चले गर्ने नाटक पुर्वी शहरहरुमा  बन्ने नाटकहरु भन्दा केहि फरक हुने गर्छ । भौगोलिक परिवेशकै कारण नाटकको  प्रोडक्शनमा ध्यान दिनु पर्ने रहेछ । पछिल्लो समय हामीले स्थानीय कच्चापदार्थलाई  थप प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । 

मलाई नाटकको लेखन, निर्देशन भन्दा व्यवस्थापनमा बढि काम गर्न मज्जा लाग्छ ।  यो पाटो एकदमै व्यवहारिक लाग्छ जुन कामले एउटा नाटक प्रोडक्शन टिमभित्र  समाज, समुदाय, संस्कृति, भाषा, भेष लगायतलाई मिलाउँछ । यहि वास्तविकतालाई  बुझ्न मेरो नेतृत्वमा २०७९ माघ १० देखि ११ गते सम्म “दोस्रो चुलाचुली पाठशाला  नाट्य उत्सव २०७९” को आयोजना हुने भयो । यो मुक्क्त रङ्गमञ्चको परिकल्पनामा  पथ्र्यो । डेढ दशक देखि घरियासी नाट्यघर निर्माण गर्न नसक्नु अनि नाटकमा  गुणस्तर ल्याउन नपाउनुको बाध्यताबीच हामीले उत्सवलाई समुदायसँगको नाटक  उत्सव बनाउने विचार ग¥यौं । 

पहिलो प्रक्रिया ठाउँ छनोट थियो । त्यो निकै फराकिलो, खुला हुनुपर्ने थियो । खोज्दै  जाँदा चुरे पहाडहरुको फेदीमा रहेको मिलन पोखरी पर्यटन क्षेत्रभित्र खोजे जस्तै  ठाउँ भेटियो । त्यो पर्यटन क्षेत्र संरक्षण गर्ने टोल र त्यहाँका गाउँलेहरुसँग छलफल  गरियो । कला, नाटकले पर्यटनसँगै गाउँका सौन्दर्यलाई पहिचान गर्ने भएपछि,  गाउँलेहरुले खानालगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन हेरिदिने भयो । हामीले  नारा बनायौं, ‘प्रकृतिको सत्सङ्गमा जाऔं, रङ्गकर्ममा रमाऔं र आफू स्वयम्सँग  संवाद गरौं ।’ यो प्रयोग नेपाली रङ्गमञ्चका लागि नयाँ थियो । थाहा भए सम्म यो  पहिलो प्रयोग थियो ।  

त्यहाँ मञ्चन हुने प्रायः नाटकहरु प्रकृतिसम्बन्धी विषयमा थिए । जङ्गलभित्र एम्पी  थिएटरको आकारमा पाठशाला नाट्य उत्सवका लागि दर्शकहरु ल्याउने आइडिया  केही थिएन । गाउँमा नाटक गर्दै आएका अनि केही नाटकहरु हेर्दै आएका गाउँले  दर्शकहरुका लागि न पोस्टर, न ब्यानर, केही प्रचारप्रचार गरेनौं । त्यही पनि गाउँ  घरमा खेतालो हिँडेको जस्तै गरी गाउँका मानिस नाटक हेर्न उपस्थिति भए । गाउँमा  प्रायः कार्यक्रममा बज्ने जस्तो चर्को ध्वनि बज्ने कुनै पनि डिजिटल बाजागाजाहरु  थिएनन् । प्रकृतिमा जे छ, त्यही नै हाम्रो नाटकको सेट थियो, रङ्ग थियो । प्रकाश  थियो । ध्वनि थियो । यी आइडियाको नाटक उत्सवले अर्को महसुस गराएको थियो ।  नाटक गर्नलाई व्यवस्थित नाटकघर आवश्यक छैन । सीमित दर्शक राखेर ब्ल्याक बक्स थिएटरमा नाटक देखाउँदा आर्थिक र व्यावसायिक रुपमा केही फाइदा होला ।  तर यो शैलीमा देखाउँदा गाउँका मान्छेले पनि नाटक देख्न पाए । अनि त्यो  सफलताले हामीलाई एकै पटक खुला मञ्चमा सयांै कलाकारहरु र हजारौं दर्शकहरुको  उपस्थिति गराउन सक्ने उत्सव गर्ने उर्जा थपेको छ । 

गाउँमा नाटक गर्दा होस् या सहरमा आर्थिक समस्या उस्तै छ । दर्शक समस्या उस्तै  छ । अझै ठूलो अप्ठ्यारा भनेको स्थानीय सरकारहरुले कला, नाटक क्षेत्रलाई  नबुझिदिनु हो । बुझाउनुपर्दाको हैरानी अनि आर्थिक सहयोग लिन कागजी प्रक्रियाको  झन्झट त छँदै छ । यो आर्थिक समस्या चुलाचुली रङ्गमञ्च, इलाम नाट्य संस्थामा  जस्तै अरु नाट्य संस्थामा पनि छन् । पूर्वमा गाउँमा भन्दा साना सहरी क्षेत्रमा नाटक  गर्ने संस्थाहरु सक्रिय रुपमा छन् । प्रायः उनीहरुको नाटक गर्ने शैली पुरानै देखिन्छ,  जसमा नयाँ कथामा लेखिएका नाटकहरुभन्दा मञ्चन भइसकेका, कति विदेशी  रुपान्तरण भएका नाटक मञ्चन गर्ने चलन छ । वर्षको धेरै नाटक एकै पटक मञ्चन  भएको २०८० सालको असोज पूर्वमा नाटक पर्व नै भएको थियो । सङ्घीय  राजधानीबाहिर रहेका रङ्गकर्मीहरुको समस्या व्यवस्थित नाट्यघर नहुँदाको प्राविधिक  समस्या भने हिजोदेखि जे थियो, त्यही नै छ । 

पूर्वमा कदम थिएटर, परिवर्तन थिएटर, चेतना नाट्य समूह, झोराहट थिएटर र  रङ्गभूमि एकाडेमी आदि सक्रिय रुपमा रहेका नाटय संस्था हुन् । यी सबैले वर्षमा  कम्तीमा केही नाटक गर्ने गरेका छन् । केहीले नाट्य उत्सव प्नि गरेका छन् ।  परिवर्तन थिएटर झापाले अन्तरविद्यालय नाट्य उत्सव गर्ने गरेको छ । यी सबैको  आ–आफ्नै काम गर्ने शैली छ । तर एकअर्कोमा सहकार्य हुने गरेको पाइन्छ ।  

नेपालमा हुने केही नाटक महोत्सवहरुले भने रङ्गमञ्च र रङ्गकर्मीहरुको ऊर्जा र  सपना बचाउने काम गरेको पाइन्छ । जसको उदाहरण, मण्डला थिएटर नेपालले गर्दै  आएको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हो । यसले गाउँमा रहेको रङ्गकर्मलाई  ब्युँउझाउने काम गरेको छ । हरेक वर्षमा यस्तै महोत्सव गर्ने हो भने मात्र पनि नेपाली  रङ्गकर्मको विकास राष्ट्रियको पहिचान यसले अन्तर्राष्ट्रियस्तरमा आउने जाने  सम्बन्धको विकास गर्ने छ । 

तर यस्तो भन्दै गर्दा मेरो विचारमा नाटक महोत्सवहरु अझै भने जस्तो हुन सकेका  छैनन् । काम गरिरहेका थिएटरहरु एकीकृत हुन नसक्दा केही कमजोरी देखिएको  हुन सक्छ । नाटक महोत्सवका आयोजक सङ्घीय राजधानीबाहिर पनि निस्कन  आवश्यक छ । राजधानीबाहिरको नेपाली रङ्गकर्म अनि रङ्गकर्मीहरुलाई हौसला दिँदै सहकार्य गर्न आवश्यक छ । काम गर्दै आएको महोत्सवहरुको उपलब्धि र  त्यसका महङ्खवहरुमाथि विभिन्न प्रदेश, नगर, गाउँपालिका र वडापालिका सरकार हरुसँग साक्षात्कार अभियान ल्याउन सके सिङ्गो नेपाली रङ्गकर्मले विभेदका सीमा  भत्काउन सक्थ्यो कि ? 

Picture of Chetan Angthupo

Chetan Angthupo

आङ्थुपो चुलाचुली रङ्गमञ्च, इलामका संस्थापक अध्यक्ष हुन् ।

Picture of Chetan Angthupo

Chetan Angthupo

आङ्थुपो चुलाचुली रङ्गमञ्च, इलामका संस्थापक अध्यक्ष हुन् ।

Discussions

{{ reviewsTotal }}{{ options.labels.singularReviewCountLabel }}
{{ reviewsTotal }}{{ options.labels.pluralReviewCountLabel }}
{{ options.labels.newReviewButton }}
{{ userData.canReview.message }}