दक्षिण कोरियामा जहाज अवतरण हुनेबित्तिकै पशुपति राई हतारले होटलतिर कुदिन् । सामान बिसाएर मेकअप कोठातिर लम्किइन् । उनी पुग्दा मेकअप गर्ने समय झन्डै ननाघेको ।
ठूलो स्टुडियोभित्र कलाकार मेकअपमा व्यस्त थिए । पशुपति एउटा कुर्सीमा बसिन् । कसैले मेकअप गरिदिए । कसैले कपाल कोरिदिए । कोही खाना सोध्न आए । कसैले पानी ल्याए । उनलाई ठ्याक्कै त्यति बेला ‘सेलिब्रेटी’ जस्तो अनुभव भयो ।
रेड कार्पेटको समय ६ः३० बजे तोकिएको थियो । त्योभन्दा एक घण्टाअगावै पशुपतिसहितको ‘गाउँ आएको बाटो’ को निर्माण टिमलाई लिन गाडी होटलअघि आइपुग्यो । निर्देशक नवीन सुब्बासँग उनी गाडीमा बसिन् । पछाडिका अर्का गाडीमा थिए— निर्माता आमोद राई अनि प्रोडक्सन म्यानेजर मिङ्सो लिम्बू ।
गाडीको ढोका पनि अरुले नै खोलिदिए । गाडीले नै रेड कार्पेटसम्म पु¥याइदियो । फिल्ममा देखिरहेका कोरियाका कलाकार आँखैअगाडि थिए । रेड कार्पेटमा कसरी प्रस्तुत हुने भन्ने सोचेर नै उनको मुटु ढुकढुक भइरह्यो ।
त्यतिकैमा उद्घोष भयो— पशुपति राई ।
रेड कार्पेटमा उनको खुट्टा छिटो–छिटो चल्न थाल्यो । आँखाले नभ्याउन्जेल दर्शक थिए । क्यामेरा झल्याकझिल्लिक गरेको ग¥यै गरे । जीवनकै पहिलो रेड कार्पेट नाप्दै गर्दा पशुपति एक क्षण शून्य बनिन् ।
पशुपतिलाई ‘गाउँ आएको बाटो’ले यो वर्ष बुसान मात्रै होइन, विश्वकै चर्चित टोरोन्टो फिल्म फेस्टिभलसम्म पु¥यायो । गएको दुई महिनाको अन्तरालमा उनी टोरोन्टो, बुसान हुँदै भारतको ‘मामी मुम्बई फिल्म फेस्टिभल २०२३’ मा पनि पुगिन् ।
सबैतिरका दर्शकले पशुपतिलाई फिल्मबाट चिने । रेड कार्पेटको हिँडाइलाई देखे । तर अभिनयको यो १९ वर्षे यात्रामा उनले गरेको सङ्घर्षलाई बिरलैले देखे होलान् । अनवरतको मिहिनेत र लगनशीलताले नै उनलाई यो क्षेत्रमा टिकाएको हो भन्ने कमैले थाहा पाए होलान् ।
पशुपति रङ्गमञ्चबाटै बाँचेकी कलाकार हुन् । यसले नै उनलाई काम दियो, बाँच्ने आधार दियो । धेरैलाई लाग्न सक्छ, एउटै फिल्मबाट पशुपतिले संसार घुमिन् । तर फिल्मले पशुपतिलाई ठूलो सङ्ख्याको दर्शकबीच मात्र पु¥याएको हो । खासमा उनी नेपालको रङ्गमञ्चबाटै चिनिएकी अब्बल कलाकार हुन् ।
रङ्गमञ्चबाट अभिनयको यो यात्रा सुरू नभएको भए पशुपति पनि पलायन भइसक्थिन् होला । तर काठमाडौंको आरोहण गुरूकुलमा उनले अभिनय मात्रै सिकिनन्, जीवन सिकिन् । नाट्य क्षेत्रमा चाहिने मिहिनेत र धैर्य जानिन् । धरानमा ‘डान्सर’ हुँदै उनी अनाम नाट्य जमातसम्म पुगेकी थिइन् । ‘अनाम’ फुटेर दुई भाग भयो । उनी नयाँ टिमतिर जोडिइन् । त्यहाँ नृत्य, नाटक र सङ्गीतको तालिम दिइन्थ्यो । नृत्य सिक्न पाइन्छ भन्ने लोभले त्यहाँ पुगेकी भए पनि उनी बिस्तारै सडक नाटकमा सहभागी भइन् । त्यति बेला काठमाडौंमा भर्खरै गुरूकुल खुल्दै थियो । एक जना साथीसँग २०६१ तिर उनी गुरूकुल आइन् । उनको रङ्गमञ्च यात्रालाई परिवारले पनि साथ दियो ।
गुरूकुल आउँदा पनि पशुपतिलाई कलाकार नै बन्छु भन्ने थिएन । बरू नृत्य प्राथमिकतामा थियो । तर दुई वर्षको गुरूकुल बसाइले उनमा अभिनयमा मोह बढाइदियो ।
त्यसरी सुरू भएको यात्राको क्रममा पशुपतिले गुरूकुलमा ‘बाठी रानी’, ‘मायादेवीको सपना’, ‘बाघ भैरव’, ‘सपनाको साविति’, ‘नेपाली आमा’, ‘एल्बममुनिको तिर्खा’ लगायत ३० भन्दा बढी नाटक गरिन् । लगभग १९ वर्ष पुगिसकेको उनको नाट्य यात्रा अहिले पनि रोकिएको छैन । बितेका केही वर्षमा पनि उनले ‘देउराली डाँडी’, ‘खुवालुङ’, ‘रमाइलो’, ‘एन्टिगोनी’, ‘म्याकबेथ म्यासकर’ जस्ता नाटक गरिन् ।
रङ्गमञ्च पशुपतिका लागि दोस्रो घर हो । रङ्गमञ्चमा हुने समान व्यवहारले नै पशुपतिलाई १९ वर्ष यो क्षेत्रमा टिकाइराख्यो । उनी भन्छिन्, ‘बाहिर मलाई तेरो उमेर यति, लैङ्गिकता यो भन्छन् । तर रङ्गमञ्च यस्तो ठाउँ भइदियो, जहाँ म सबै कुरा यहाँ सजिलै भन्न सक्छु । यहाँ मैले समान ‘स्पेस’ पाएको छु । जन्मिसकेपछि केही न केही गर्नै पर्छ । मेरा लागि नाटक त्यस्तै संसार बनिसक्यो, जहाँ म रमाउन सक्छु । १९ वर्ष कसरी बिताएँ, पत्तो नै भएन ।’
हुन त पशुपतिको यो यात्रा सङ्घर्षरहित पनि छैन । उनी अभिनयको यात्रामा नै हुँदा काठमाडौंको गुरूकुल भत्कियो । त्यसपछि खास सङ्घर्ष सुरू भयो । गुरूकुल हुँदा उनी महिनाको ३५ सय पाउँथिन् । त्यही रकमले खान÷लाउन पुग्थ्यो । गुरूकुल भत्कँदा त्यो खर्च पनि बन्द भयो । खर्च सकिएर पूरै सुक्खा लाग्यो । त्यति बेलातिरकै कुरा हो, उनी शङ्खमूलबाट फर्कंदै थिइन् । ट्याम्पोलाई दिनु थियो, आठ रूपैयाँ । उनीसँग थियो मात्र सात रुपैयाँ । त्यति बेला एक रूपैयाँ भेटियोस् भनेर गरेको कामना गरेको उनलाई हिजो जस्तो लाग्छ ।
ऊ बेला द्विविधाको समय थियो । के गर्ने के नगर्नेको अलमल उस्तै । एक समय त पशुपतिलाई यहाँ केही हुँदैन, धरान नै फर्किन्छु भन्नेसम्म पनि भयो । तर उनले आफूलाई टिकाउने विकल्प खोजिन् । रेडियो नाटकमा काम गरिन् । बाँच्नकै लागि कहिले विद्यालयमा नाटक पढाइन् त कहिले फिल्महरुमा कस्ट्यूमदेखि प्रप्सको काम गरिन् । धरान फर्कने सोच आउँदा सङ्गीत तथा नाट्य प्रतिष्ठानले चरीकोटमा गर्ने भनेको नाटक महोत्सवले अल्झायो । बिस्तारै मण्डला थिएटरका परियोजनामा आबद्ध भइन् ।
अनि अरु सङ्घर्ष पनि थिए । सक्षम हुँदाहुँदै पनि त्यो स्थानका लागि आफू योग्य छु भनेर प्रमाणित गर्न धेरै दुःख गर्नुपरिरह्यो ।
त्यति बेला बजारले मिलेको शरीर, चिटिक्कको अनुहारलाई ‘हिरोइन’ मान्थ्यो । पशुपति बजारको सौन्दर्य दृष्टिकोणमा पर्दिनथिन् । अहिले उनलाई आफू सही समयमै फिल्म क्षेत्रमा प्रवेश गरें भन्ने लाग्छ । उनी भन्छिन्, ‘त्यति बेला म फिल्म क्षेत्रमा प्रवेश गरेको भए मेरो कद र शरीर हेरेर मान्छे हाँस्थे होला । तर म सही समयमा फिल्म क्षेत्रमा आएँ ।’
थुप्रै चर्चित नाटकमा अभिनय गरिसकेकी पशुपति दर्शकबीच ’कबड्डी’बाट चिनिइन् । त्यसपछि सानो सानो भूमिका गर्दै गर्दै ‘गाउँ आएको बाटो’ को प्रमुख भूमिकामा छानिइन् । त्यही फिल्मले अहिले उनलाई विश्वभर चिनाइरहेको छ । धेरै यादगार पल दिएको छ । टोरोन्टोको दोस्रो प्रदर्शन सकिएपछि एक जना दर्शक उनलाई देखेर चकित भएको उनी सम्झिरहेकी छन् । उनले पशुपतिलाई फिल्ममा देखिएकी आमाकै हुलियामा अपेक्षा गरेकी रहिछिन् । उनको वास्तविक अवतार देखेपछि त तीनछक्क । त्यति बेला अटोग्राफ दिँदाका क्षण सम्झँदा उनलाई अझै विश्वास पनि लाग्दैन । जीवनमा पहिलो पटक कलाकार उत्तम प्रधानको अटोग्राफ लिएकी पशुपति बुसानमा पनि अटोग्राफ लिनेहरुले घेरिइन् । अटोग्राफमा के लेख्नुपर्छ भन्ने पनि थाहा थिएन । हात काँप्न थाल्यो । आपूmलाई सम्हाल्दै बल्लतल्ल अटोग्राफ दिइन् ।
फेस्टिभल घुमिरहँदा पशुपतिलाई आफू सपनीमा छु कि भन्ने पनि लाग्छ । तर यो यात्रा र उपलब्धिको आफू लायक रहेको विषयमा उनी विश्वस्त छिन् । नेपाली रङ्गमञ्चको अभिनयमा यतिका वर्ष बिताएकै कारण आफूले ‘गाउँ आएको बाटोग्́ जस्तो फिल्म गर्न पाएको उनी सुनाउँछिन् ।
नेपालमा भइरहेका पछिल्ला रङ्गमञ्चीय गतिविधिलाई देखेर उनी खुसी हुन्छिन् । मिलेसम्म भइरहेका नाटक हेर्न छुटाउँदिनन् । त्यति मात्र होइन, उनी रङ्गमञ्चमा आफूले गरेको यात्रा अनि त्यसबाट पाएको सिकाइलाई अरुसम्म पु¥याउन समय मिलेसम्म पढाइरहेकी पनि हुन्छिन् । नेपाल राष्ट्रिय नाटक महोत्सवमा हुने नाटकबाहेकका अन्य कार्यक्रममा कहिले सहजकर्ता, कहिले प्यानलिस्ट त कहिले दर्शकका रुपमा सहभागी भइरहेकी हुन्छिन् । नेपाली नाटक पहिला–पहिला हुने नाटकभन्दा फरक र विविध बनेको उनको बुझाइ छ । र त्यस्तै एउटा गाउँको कथामा अभिनय गरेर विश्व डुलिरहेकी उनलाई के विश्वास भएको छ भने यो समय विविधता भएको कथाको समय हो ।
उनलाई लाग्छ, धरानमा त्यो बेला रङ्गमञ्च नभइदिएको भए उनको नाच्ने रहर पूरा हुने थिएन । उनले सडक नाटक नदेखेकी भए अभिनयको भोक उनमा आउने थिएन । देखेपछि सबैले सिक्छन् । अनि बल्ल पछ्याउँछन् । उनलाई लाग्छ, त्यसका लागि पनि नेपालमा भइरहेको रङ्गमञ्चीय गतिविधि काठमाडौंबाहिर र त्यसमा पनि मुख्य सहर मात्र होइन, गाउँगाउँमा पनि पुग्नुपर्छ । उनले नेपाली रङ्गमञ्चले दिएको यात्राको क्रममा यस्ता धेरै गाउँ पुग्न पाएकी छन्, जहाँ कथा भन्न मनपराउने मान्छेहरु छन् । उनलाई लाग्छ, नेपाली रङ्गमञ्च र फिल्मले ती कथा सुन्नुपर्छ ।
अहिले रङ्गमञ्चमा अभिनय सिकेर फिल्ममा फड्को मार्ने ट्रेन्ड छ । रङ्गमञ्चमा अभिनय राम्रो हुन्छ भन्ने छाप परेकाले नै धेरैको आकर्षण रङ्गमञ्चमा बढेको छ । उनका लागि यो पक्कै पनि नराम्रो होइन । तर तीन महिनाको तालिमबाटै अभिनय गर्दैमा जादुको छडी चल्छ भन्ने मान्यता हटाउनुपर्ने पशुपति बताउँछिन् । उनी अभिनय सिक्न चाहनेहरु केवल कक्षा लिन मात्र होइन, अरु बेला पनि रङ्गमञ्चमा आइपुग्नुपर्ने अनि अरुका नाटक पनि हेर्नुपर्ने बताउँछिन् । अनि देश विदेशका नाटक सहभागी हुने नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव जस्ता अवसर त छुटाउनै नहुनेमा जोड दिन्छिन् ।