नाटकका बारे
नेपाली नाटक बनाउनु भनेको नेपाली मौलिकतासहितको विषय उठान गर्नु हो । नेपाली संस्कृति र विचारधारालाई अघि सार्नु हो । सौन्दर्यबोध र चेतनाका अर्थमा रैथाने जीवन, कला र समुदायहरूको मनोविज्ञान ज्ञान गर्नु हो । संगीतको लय पछ्याउँदा होस् या शब्द–संवादलाई उकेरा लाउँदा नै किन नहोस्, रैथाने पारा समातिहाल्नु पर्छ । एउटा भूगोलका समुदायले स्थापित गरेका मान्यताहरूलाई अरूमा साक्षात्कार गराउनु पनि हो । सबै खाले उपनिवेशविरुध्द उभिनु हो । जरा खोज्ने अभियानमा समाहित हुनु हो । यति सोचका साथ “दमिनी भीर” उपन्यासलाई “नाटक” बनाइएको हो । कथाहरू, पात्रहरू त उपन्यासमा बेस्सरी छन् । यहाँ भने जात व्यवस्थाले थिचिरहेको नेपाली समाजको चित्रलाई देखाउने निधो गरिएको छ । उत्पीडनको किसिमलाई नाटक कलाबाट भन्ने कोसिस गरिएको छ । शालीन पाराले उत्पीडकहरूविरुध्द जाइलाग्ने तौर अपनाइएको छ ।
लेखकीय
“सोच्नु” सहज छ, यस्तै लाग्छ । तर, गम्भीर विषय “सोच्नु”चाहिँ कठिन छ । साह्रै सकस हुन्छ । अझ सामाजिक न्यायका पक्षमा “सोच्नु” त झनै जब्बर कुरा हो । धेरै उल्झनहरूसित जुझ्नुपर्छ, तिनलाई भत्काउन दरिलो आत्मविश्वास जगाउनु पर्छ । परिवर्तनका लागि होमिन करिलो हुनु पर्छ । झन्डै पन्ध्र वर्षअघि यस्तै केही सोचेर लेख्न थालिएको उपन्यास “दमिनी भीर” २०६९ सालमा प्रकाशित भयो । उवेला जे जसरी सोचियो र लेखियो । यतिवेला आफ्नै उपन्यासलाई नाटकमा लेखन गर्नु अप्ठेरो निश्चित थियो । उसमाथि उपन्यासका सबै पात्रहरूलाई एउटै नाटकमा उन्नु सम्भव हुँदैन नै । त्यसै र यहाँ “लच्छी (माइली)”लाई केन्द्रमा राख्ने मनसाय गरियो । यसको खास कारणचाहिँ नेपाली समाजको रूपान्तरणका लागि पटक पटक भएका आन्दोलनहरू रूपमा सफल भए, तर सार र वैचारिक सौन्दर्यका दृष्टिले उही प्रताडन हावी भएरै आइरह्यो, आइरहेकै छ । पछिल्लो समय त नेपाली समाजको जातिभेदी बितन्डा अझ पेचिलो भइरहेको छ । तब लच्छीहरूको आत्मविश्वासलाई बोकेर नाटक कलामार्फत् जातिभेदविरुध्द प्रतिरोध गर्नै पर्दछ । यसै मेसोबाट यो नाटक लेखिएको हो । निर्देशक इँगिहोपो कोइँच सुनुवारले रैथाने ज्ञानको सौन्दर्यबोधका साथ काम गरेका छन् । साथै, नाटकमा जोडिनुभएका सबैले मेहनत गर्नुभएको छ । बहुत गज्जब लागेको छ ।
निर्देशकीय
उँधो लाग्ने उँधौलीलाई उँभो लाग्न उँभौलीले डाकेजस्तो हो कि भन्ने लाग्दैछ यसपटकको यो नाटक यात्रा । सिकाइको पालुवा पलाउने क्रम जारी नै छ । राजन दाजुले यो सर्वप्रिय उपन्यास मेरो काँधमा विश्वासका साथ राखिदिनु आफैमा सौभाग्य अनि चुनौतीको भीर थियो । यो भीर थाम्ने बल गरेँ । नाटक निर्देशनमा यो मेरो प्रयास हो । जसरी उपन्यासले एउटा कालखण्ड, समस्या र सवाल बाकेको छ, त्यो समस्यामाथिको सवाल आज पनि उत्तिकै सान्दर्भिक भएको हुँदा यो नाटक गर्नुपर्छ भनेर आँट गरियो । मलाई मेरो समुहले विशेष साथ दिनुभएको छ । साथ दिनुहुने मेरो अनन्य मित्र किरण चाम्लिङ राई लगायत पूरै समुह अनि राजन दाजुप्रति सदा कृतज्ञ हुनेछु । अब यो नाटक हाम्रोबाट तपार्इंहरुको भयो । तपाईंहरुको साथ, सल्लाह, सुझावको सधैँ खाँचो छ । तपार्इंहरुप्रति पनि सदा नमन ।
ममा आर्ट्सको बारेमा
ममा आर्ट्स कलालाई आधार मानेर नेपालका सांस्कृतिक, सामुदायिक, भाषिक, राजनीतिक, शैक्षिक, बौद्धिक सबै कुरालाई पारदर्शी रुपमा उजागर गर्ने संस्था हो । यस संस्थाले कलाका विभिन्न विधाहरु जस्तैः नाटक, चलचित्र, वृत्तचित्र, गीतसंगीत, म्युजिक भिडियो जस्ता श्रव्यदृश्यमा रहेर काम गर्नेछ । जसले समाजको चित्रण गर्नुका साथै बोल्नुपर्ने आवाजहरु उठाइरहनेछ । यसअघि लघु चलचित्र “सेनाको चेली” निर्माण गरी नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७८ मा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
थैली इन्टरटेन्मेन्ट
विगत केही वर्षदेखि नाटक, म्युजिक भिडियोमा ‘थैली इन्टरटेन्मेन्ट’ सक्रिय रूपमा कार्य गर्दै आइरहेको छ । यसअघि “लाटो पहाड”, “जोखना” जस्ता सफल नाटकहरू निर्माण गर्नुका साथै तिमी तारे भीर, हुरुक्कै भएँ म, देमसारो, आउन माया, पिरतीको अनिकालैमा, आमालगायत थुप्रै सफल म्युजिक भिडियोहरू निर्माण गरिसकेको छ । नाटकका रूपमा ‘खुवालुङ’ थैली इन्टरटेन्टमेन्टको तेस्रो प्रस्तुति हो । आगामी दिनहरूमा थैली इन्टरटेन्टमेन्टले अझै धेरै कामहरू गर्नेछ ।